बिरगंज, फागुन १० – समाजसेवामा क्रियाशील उपकार सेवा नेपालले जीतपुर सिमरा उपमहानगरपालिका–२१, अमलेखगञ्जका ४३ वर्षीय सुमन कार्कीलाई ह्वीलचेयर प्रदान गरेको छ।
तीन वर्षअघि सवारी दुर्घटनामा परेर मेरुदण्डमा गम्भीर चोट लागेका कार्की हिँडडुल गर्न असमर्थ छन्। उनको कठिन परिस्थितिबारे जानकारी पाएपछि उपकार सेवा नेपालले सहयोग गर्ने निर्णय गरेको सामाजिक अभियन्ता प्रकाश थारूले जानकारी दिए।
संस्थाले विशेष कार्यक्रम आयोजना गरी कार्कीको घरमै पुगेर ह्वीलचेयर हस्तान्तरण गरेको थियो। संस्थाकी अध्यक्ष विद्या कुमारी सरावगी, सदस्य अंकुर शर्मा लगायतको उपस्थितिमा आयोजित कार्यक्रममा कार्कीलाई सहयोग गरिएको हो।
उक्त सहयोगले कार्कीको दैनिक जीवन सहज बनाउने विश्वास गरिएको छ। उपकार सेवा नेपालले अपांगता भएका तथा असहाय व्यक्तिहरूलाई निरन्तर सहयोग गर्दै आएको छ।


