९ मंसिर, काठमाडौं। ४० लाख ७९ हजार ८८० बराबरको धनमाल चोरी गरेको अभियोगमा प्रहरीले महोत्तरीका एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा महोत्तरीको सोनमा गाउँपालिका-७ सुन्दर निवासी १९ वर्षीय सौखत अन्सारी रहेका छन्। अन्सारीको साथबाट प्रहरीले विभिन्न मूल्यवान सामाग्रीहरू बरामद गरेको छ।
बरामद गरिएका सामानहरूमा सुनका सिक्री, औंठी, तथा हातमा लगाउने बाला गरी कुल १२.६ तोला, २४८ ग्राम चाँदीका गरगहनाहरू, सामसुङ कम्पनीका दुईवटा मोबाइल फोन, र क्यानन कम्पनीको ८० डी मोडलको क्यामरा रहेका छन्। साथै, ४१५ अमेरिकी डलर, ३५ अष्ट्रेलियन डलर, ५ युएई दिराम, २० भारु रुपैयाँलगायतका रकम पनि प्रहरीले फेला पारेको छ।
जिल्ला प्रहरी कार्यालय काठमाडौंका अनुसार पक्राउ परेका अन्सारीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसरमा पठाइएको छ। प्रहरीले घटनाबारे थप विवरणहरू संकलन गरिरहेको जनाएको छ।


