निरंजन शाह ,
काठमाडौं, बैशाख ४ – काठमाडौंको टोखा क्षेत्रबाट २५ करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको अवैध डलर र युरोसहित पक्राउ परेका ट्रक चालक कुसाङ लामा कारागार चलान भएका छन्।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले लामा उर्फ ‘फुच्चे’लाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो। सिन्धुपाल्चोक स्थायी घर भई काठमाडौंमा ट्रक चलाउँदै आएका लामालाई केही समयअघि टोखा–झोर क्षेत्रमा शंका लागेपछि प्रहरीले जाँच गर्दा भारी मात्रामा अमेरिकी डलर र युरो फेला पारेको थियो।
यस मामिलामा मुख्य योजनाकारका रूपमा उल्लेख भएका नारायण पौडेल भने अझै फरार छन्। पौडेल सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थायी निवासी हुन् र हाल टोखा नगरपालिका–१० मा बस्दै आएका थिए। उनीविरुद्ध फरार प्रतिवादीका रूपमा मुद्दा दायर गरिएको छ।
प्रहरी स्रोतका अनुसार उक्त रकम वैदेशिक मुद्रा तस्करी तथा हवाला कारोबारसँग सम्बन्धित हुनसक्ने आशंकामा थप अनुसन्धान भइरहेको छ। पौडेलको खोजी कार्य तीव्र पारिएको छ।
अदालतको आदेशसँगै ट्रक चालक लामालाई अब कानुनी प्रक्रियाअनुसार कारागारमा राखेर अनुसन्धान अगाडि बढाइने जनाइएको छ।


