१८ वैशाख, वीरगञ्ज
अन्तर्राष्ट्रिय श्रमिक दिवसको १३६औं वार्षिकोत्सवका अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस पर्सा र बारा जिल्ला कार्यसमितिको संयुक्त पहलमा आज वीरगञ्जमा बृहत र्याली तथा आमसभा आयोजना गरिएको छ।
वीरगञ्जको घन्टाघरबाट सुरु भएको र्यालीले माईस्थान, आदर्शनगर लगायतका प्रमुख भाग परिक्रमा गरी पुनः घन्टाघरमै आएर आमसभामा परिणत भएको थियो। र्यालीमा सयौंको संख्यामा श्रमिकहरूको सहभागिता रहेको थियो। उनीहरूले “श्रमिक एकता जिन्दावाद”, “श्रमको सम्मान गरौं”, “श्रम शक्ति नै राष्ट्र शक्ति हो” भन्ने नारा लेखिएका प्लेकार्ड बोकेर जनचेतनामूलक प्रदर्शन गरेका थिए।
सभामा नेपाल ट्रेड युनियन कांग्रेस मधेश प्रदेश अध्यक्ष विजय यादवसहित श्रमिक नेताहरू, सामाजिक अभियन्ता तथा राजनीतिक दलका प्रतिनिधिहरूले सम्बोधन गरेका थिए।
वक्ताहरूले न्यूनतम पारिश्रमिक सुनिश्चित गर्न, सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी रूपमा लागू गर्न, र स्वदेशमा रोजगारीका अवसर सिर्जना गर्न सरकारलाई आग्रह गरे। अध्यक्ष यादवले सम्बोधनमा भने, “श्रमिक बिना राष्ट्रको समृद्धि सम्भव छैन। श्रमिकको मर्यादा कायम राख्ने र उनीहरूका हक सुनिश्चित गर्ने नीतिहरू अब कार्यान्वयनमा आउनुपर्छ।”
उनले प्रदेश स्तरका श्रम मन्त्रालयलाई सशक्त बनाउने, वैदेशिक रोजगार सुरक्षित बनाउने, र आन्तरिक रोजगारीलाई प्रोत्साहित गर्ने पक्षमा जोड दिएका थिए।
“आन्तरिक रोजगारी र सामाजिक सुरक्षा हाम्रो अभियान, सामाजिक न्याय सहितको समृद्ध राष्ट्र निर्माण हाम्रो लक्ष्य” भन्ने मूल नारासहित कार्यक्रम सम्पन्न गरिएको आयोजकहरूले जनाएका छन्। कार्यक्रममा विभिन्न श्रमिक युनियन, पेशागत संगठन, समाजसेवी, राजनीतिक कार्यकर्ता तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
यस्ता कार्यक्रमहरूले श्रमिक अधिकारको संरक्षण र प्रवर्द्धनमा सशक्त सन्देश प्रवाह गर्ने आयोजकको विश्वास छ।


