मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११, रातोमाटेबाट प्रहरीले अवैध लागूऔषध गाँजा १११ किलोसहित एक जनालाई पक्राउ गरेको छ। कैलाश गाउँपालिका–२, डाँडाखर्क निवासी ३४ वर्षीय रावल स्याङ्वोलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीले गुप्त सूचनाका आधारमा छापा मारेर गाँजा ओसारपसारमा प्रयोग गरिएको गाडी र चालकलाई नियन्त्रणमा लिएको बताएको छ। मकवानपुर क्षेत्र गाँजा उत्पादन र तस्करीका लागि प्रयोग हुँदै आएको देखिएको छ।
यसअघि पनि लगातार लागूऔषध बरामद भइरहे पनि प्रायः भरिया र चालक मात्र पक्राउ पर्ने गरेको छ। मुख्य गिरोह र तस्करीका योजनाकार भने कानुनी कारबाहीको दायराबाट टाढा रहेको स्थानीय बासिन्दाको गुनासो छ।
मकवानपुर प्रहरीले गाँजा तस्करी नियन्त्रणमा विशेष अभियान चलाउने बताएको छ।


