निरंजन शाह,
वीरगञ्ज, पर्सा – सेवा र समाजसेवामा सक्रिय हिलिङ टच स्पा एन्ड सलोनले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। वीरगञ्जको लोहारपट्टी रोडस्थित आरबी कम्प्लेक्सको पाँचौँ तल्लामा आयोजित उक्त कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि पर्सा जिल्ला प्रशासन कार्यालयका प्रमुख गणेश अर्याल थिए भने विशिष्ट अतिथिमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्र, सशस्त्र प्रहरी बलका एसपी राधेश्याम धिमाल, नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति बृजकिशोर पटेल, उद्योग वाणिज्य संघ पर्साका अध्यक्ष अनिल अग्रवाल लगायत विभिन्न प्रतिष्ठित व्यक्तिहरू उपस्थित थिए।
५४ जनाको अमूल्य रक्तदान
हिलिङ टच स्पाका सञ्चालक रोशन गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममार्फत ५४ जना स्वयंसेवीहरूले रक्तदान गरेका थिए, जसमा तीन जना महिला पनि सहभागी थिए। रक्तदान गर्नेहरूमा सुभाष पटेल, राजकुमार पासवान, प्रेमनारायण राई, बिचन महतो, राकेश कुमार जैसवाल, विनीत अग्रवाल, सुरेश कुमार गोयल, दिपेन्द्र, अमन अग्रवाल लगायतको उल्लेखनीय सहभागिता रह्यो।
रेडक्रस तथा विभिन्न सामाजिक संस्थाहरूको सहकार्य
नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष गुप्ता, सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवण बहादुर रायमाझी, वीरगञ्ज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाई लगायत विभिन्न सामाजिक अभियन्ताहरूको समेत कार्यक्रममा सक्रिय उपस्थिति रहेको थियो। रक्त सञ्चार वीरगञ्जका जितेन्द्र कुश्वाहा, राजन श्रीवास्तव, नमित चौरसियालगायतको टोलीले प्राविधिक सहयोग प्रदान गरेको थियो।
स्पा सेवाहरू र भविष्यको योजना
हिलिङ टच स्पा एन्ड सलोन वीरगञ्जकै एक मात्र पारिवारिक स्पा भएको सञ्चालक रोशन गुप्ताले बताए। शान्त, सङ्गीतमय र प्राकृतिक वातावरण प्रदान गर्ने यस स्पाले फुल बडी मसाज, हट स्टोन थेरेपी, जाकुजी बाथ, हेयर प्याच, डिप सेन्स मसाज, फुट मसाज, स्टीम बाथ, फिश फुट मसाजजस्ता विविध सेवाहरू प्रदान गर्दै आएको छ।
सञ्चालक गुप्ताका अनुसार भविष्यमा थप सामाजिक कार्यक्रमहरू गर्दै जाने योजना रहेको छ। रक्तदान जस्तो परोपकारी कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने भएकाले यस्ता अभियानलाई निरन्तरता दिने प्रतिबद्धता उनले व्यक्त गरे।


