८ असार, सेढवा — पर्साको जीराभवानी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ३६ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। आइतबार गाउँपालिका–१५औं गाउँसभाबाट आगामी वर्षका लागि नीति, कार्यक्रम र बजेट पारित गरिएको हो।
गाउँपालिका उपाध्यक्ष रेखा चौधरीले वडा नं. ३ स्थित कार्यालयको सभाहलमा प्रस्तुत गरेको बजेटमा शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिइएको उल्लेख छ।
उनका अनुसार कुल ३६ करोड रुपैयाँ बराबरको बजेटमा संघीय सरकारको वित्तीय समानीकरण मार्फत ९ करोड, संघीय सशर्त अनुदानबाट १८ करोड, राजस्व बाँडफाँटबाट ८ करोड तथा आन्तरिक आम्दानीबाट १ करोड संकलन हुने अनुमान गरिएको छ।
शिक्षा र स्वास्थ्यमा महत्वपूर्ण योजना
गाउँपालिकाले दुईवटा माध्यमिक विद्यालयमा कक्षा १२ सम्मको शिक्षालाई निरन्तरता दिने योजना ल्याएको छ। त्यस्तै, प्रशासनिक भवन आगामी फागुन महिनासम्म सम्पन्न गर्ने र १० शैयाको आधारभूत अस्पताल कार्तिक–मंसिरभित्र सञ्चालनमा ल्याउने लक्ष्य नीति तथा कार्यक्रममा समावेश गरिएको छ।
कृषिमा आधुनिकता र बजार पहुँचको प्राथमिकता
कृषि क्षेत्रमा किसानले उत्पादन गरेका अन्नबाली तथा तरकारीको उचित मूल्य र बजार व्यवस्थापनका लागि विशेष कार्यक्रम सञ्चालन गरिने उपाध्यक्ष चौधरीले जानकारी दिइन्। रासायनिक मल, सुधारिएको बीउ, कीटनाशक लगायतका कृषिजन्य सामग्री समयमा आपूर्ति नहुँदा समस्या आउने भएकाले यस क्षेत्रमा विशेष ध्यान दिइने बताइएको छ।
सिंचाइको सन्दर्भमा प्रदेश सरकारसँग ५ करोड रुपैयाँ माग गरिएको छ भने गाउँपालिकाका किसानलाई सिंचाइमा आत्मनिर्भर बनाउन खोला, नदी लगायतका स्रोतहरूमार्फत परियोजना अघि बढाइने कार्यक्रम रहेको प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहाले बताए।
सभामा सहभागिता
सभा गाउँपालिका अध्यक्ष अनोज चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहा, वडाध्यक्ष रामशरण ख्वास थारु, महादेव महतो थारु, कार्यपालिका सदस्य सरोज चौरसिया लगायतले आफ्ना मन्तव्य दिएका थिए। कार्यक्रमको सञ्चालन शिक्षा शाखा प्रमुख शिवराज फुयालले गरेका थिए।
— ANN News


