वीरगन्ज, पर्सा — वीरगन्ज महानगरपालिका–२१ परवानीपुरस्थित मनोज ग्यास उद्योग प्रा.लि.बाट उत्पादन भएको मनोज ग्यासको एक सिलिन्डरमा ४ किलो ग्यास कम भएको पत्ता लागेको छ।
घटनाको खुलासा वीरगन्ज–९ रानीघाटमा होटल व्यवसाय सञ्चालन गर्दै आएका नगीना साहले गरेका हुन्। शनिबार उनले डिलर विनयलाल साहको पसलबाट खरिद गरेको ग्यास सिलिन्डर समयभन्दा धेरै पहिला खाली भएपछि तौल जाँच्दा ४ किलो कम रहेको देखिएको हो। साहले भने, “वर्षौंदेखि मनोज ग्यास प्रयोग गर्दै आएको थिएँ, तर पछिल्लो समय सिलिन्डर असामयिक सकिन थालेपछि शंका लागेर तौल जाँच्दा वास्तविकता खुलेको हो।”
यसबारे नगीना साहले डिलर साहलाई जानकारी गराइसकेका छन्। डिलर विनयलाल साहले आफ्नो तर्फबाट कुनै गल्ती नभएको दाबी गर्दै भने, “सिलिन्डर पूर्णरूपमा सिलबन्द थियो। म आफैंले गत साता ४० थान सिलिन्डर मगाएको थिएँ, तीमध्ये कम तौल भएको एक थान पनि परेको रहेछ। यसको जवाफ त कम्पनीले दिनुपर्छ।”
उद्योग सञ्चालक मनोज दासले भने यस घटनालाई गम्भीर रूपमा लिएका छन्। उनले भने, “सिलबन्दी अवस्थाको सिलिन्डरमा कम तौल भेटिनु शंकास्पद छ। म आफैं चकित छु। प्रतिनिधि खटाएर अनुसन्धान सुरु गरिएको छ।” उनले थपे, “सत्यतथ्यको प्रतिवेदन आएपछि आवश्यक कदम चालिनेछ।”
यस घटनाले उपभोक्ताबीच ग्यासको गुणस्तर र तौल सम्बन्धी प्रश्न उठाइदिएको छ। साभार मधेश खबर


