वीरगञ्ज। औद्योगिक फोहोरका कारण गम्भीर रूपमा दूषित बनेको सिर्सिया नदी संरक्षणका लागि वीरगञ्जका युवाहरूले सुरु गरेको नागरिक अभियान दोस्रो चरणमा पुगेको छ। लामो समयदेखि प्रदूषणको चपेटामा परेको नदीको अवस्थाबारे राज्यका निकाय र राजनीतिक नेतृत्वको ध्यानाकर्षण गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो।
युवाहरूले सरसफाइ, सचेतनामूलक कार्यक्रम र प्रतीकात्मक विरोधमार्फत सिर्सिया नदीको वास्तविक अवस्थालाई सार्वजनिक गर्दै आएका छन्। अभियान संयोजक किसु सर्राफको नेतृत्वमा करिब ३० जना युवा स्वस्फूर्त रूपमा सहभागी छन्।
अभियानको दोस्रो चरणमा युवाहरू रानीघाट क्षेत्रमा भेला भई नदी आसपास सरसफाइमा संलग्न भएका छन्। यस क्रममा नदीबाट सङ्कलन गरिएको प्रदूषित पानी पूर्व प्रतिनिधिसभा सदस्य विना जयसवाल कुर्मीलाई बुझाइएको छ। युवाहरूले नदी संरक्षणका विषयमा राजनीतिक तहमा आवाज उठाइदिन आग्रह गरेका छन्।
यसअघि अभियानको पहिलो चरणमा प्रदूषित पानी जिल्ला प्रशासन कार्यालय तथा वीरगञ्ज महानगरपालिकामा बुझाइएको थियो। साथै, वीरगञ्ज उद्योग वाणिज्य सङ्घलाई औपचारिक रूपमा पत्राचार गर्दै निश्चित समयसीमाभित्र प्रदूषण नियन्त्रणका उपाय अवलम्बन नगरे थप दबाबमूलक कार्यक्रम अघि बढाइने चेतावनी दिइएको छ।
अभियानमा सहभागी बिक्की सर्राफका अनुसार प्रत्येक शनिबार सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम निरन्तर सञ्चालन गरिनेछ। उनले सिर्सिया नदीको पर्यावरणीय महत्त्वबारे जानकारी प्रवाह गर्ने र सम्बन्धित निकायहरूसमक्ष तथ्य प्रस्तुत गर्ने योजना रहेको बताए।
पर्सा–बारा औद्योगिक क्षेत्रका विभिन्न उद्योगबाट निस्कने रासायनिक फोहोर नदीमा मिसिँदा सिर्सिया नदीको पानी प्रयोगयोग्य अवस्थामा नरहेको स्थानीयहरूको गुनासो छ। यसले नदी किनारका बस्ती, कृषि भूमि, जलचर जीव तथा समग्र वातावरणीय प्रणालीमा नकारात्मक प्रभाव पारेको विज्ञहरूको भनाइ छ।
छठ पर्वको समयमा मात्र प्रदूषणको विषय उठ्ने परम्परालाई चुनौती दिँदै युवाहरू वर्षभरि नै सक्रिय भएको जनाइएको छ। अभियान संयोजक किसु सर्राफले सिर्सिया नदी सफा भएको दाबीलाई अस्वीकार गर्दै वास्तविक अवस्था सार्वजनिक गर्न अभियान अघि बढाइएको स्पष्ट पारे।
आगामी दिनमा अभियानले स्थानीय तहदेखि केन्द्र सरकारसम्म दबाब सिर्जना गर्ने अपेक्षा गरिएको छ। युवाहरूले सरोकारवाला निकाय र नागरिक समाजलाई पनि नदी संरक्षणमा सक्रिय भूमिका खेल्न आह्वान गरेका छन्।
बाराको रामवन क्षेत्रबाट उद्गम भई वीरगञ्ज हुँदै भारतको रक्सौलसम्म बग्ने सिर्सिया नदी वर्षौंदेखि कपडा, छाला, साबुनलगायत विभिन्न उद्योगको फोहोरका कारण प्रदूषित हुँदै आएको छ। विगतमा भएका पहल प्रभावकारी नहुँदा समस्या जटिल बनेको भए पनि पछिल्लो युवा अभियानले विषयलाई पुनः राष्ट्रिय बहसमा ल्याउने संकेत देखिएको छ।


