संघीय संसद सचिवालयले सांसदहरूलाई जानकारी प्रदान गर्न ‘तथ्य पुस्तिका’ प्रकाशन गरेको छ। उक्त पुस्तिकामा संघीय संसद, सामाजिक तथा आर्थिक पक्षका विविध तथ्यांक समेटिएका छन्।
संसद सचिवालयकी सहसचिव निर्मलादेवी लामिछाने (वस्ती), उपसचिव विकास बोहरा, राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक शिव श्रेष्ठ र शाखा अधिकृत निरज दाहाल सम्मिलित समितिले पुस्तिका तयार पारेको हो।
सहसचिव लामिछानेका अनुसार सांसदहरूलाई संसदीय गतिविधि र नीति निर्माणका क्रममा आवश्यक तथ्यांक सहज रूपमा उपलब्ध गराउने उद्देश्यले पुस्तिका निकालिएको हो। उनले भनिन्, ‘सांसदहरूलाई तथ्यांक बुझ्न र तथ्यमा आधारित विश्लेषण गर्न सहज होस् भन्ने हाम्रो मुख्य उद्देश्य हो।’
सचिवालयले यो पुस्तिका प्रत्येक वर्ष अद्यावधिक गरी प्रकाशन गर्ने तयारी गरिरहेको छ। लामिछाने भन्छिन्, ‘डेटा अपडेट गर्दै पुस्तिका निरन्तर प्रकाशित गर्ने योजना छ, ताकि सांसदहरू संसद्मा तथ्यमा आधारित भएर प्रस्तुत हुन सकून्।’


