

सल्यानको कुपिण्डे नगरपालिका–११, सिस्नेपातालमा बुधबार बिहान दुई बालिका घरभित्रै मृत अवस्थामा फेला परेपछि प्रहरीले उनीहरूको आमा पूर्णिमा रानालाई नियन्त्रणमा लिएको छ।
तीन वर्ष र छ महिनाका बालिका मृत फेला परेका थिए। उनीहरूको घाँटीमा चोटका चिन्ह देखिएकाले प्रारम्भिक अनुसन्धानपछि आमालाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले यो घटना हत्या भएको देखाएको छ। सल्यानका डीएसपी केशर न्यौपानेका अनुसार आमाले घटनामा संलग्न भएको स्वीकार गरेकी छिन्। अनुसन्धानका क्रममा घरको बलोमा सल बाँधेर छोरीहरूलाई झुन्ड्याएर हत्या गरिएको पाइएको छ।

१७ वर्षीया पूर्णिमाले १४ वर्षको उमेरमा टेकमान रानासँग विवाह गरेकी थिइन्। टेकमान कामको सिलसिलामा नुवाकोटमा थिए। घटनाको जानकारी पाएपछि उनी घर फर्किएका छन्।
यो घटनाले स्थानीयमा शोक र आक्रोशको वातावरण सिर्जना गरेको छ। प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ।


