सर्लाहीको लालबन्दी नगरपालिका क्षेत्रभित्र एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि स्थानीय वातावरण तनावपूर्ण बनेको छ। घटना पछि प्रहरीले तत्काल सुरक्षा कडा बनाउँदै स्थिति नियन्त्रणमा ल्याएको छ भने उपचारमा संलग्न चिकित्सकलाई नियन्त्रणमा लिएको छ।
लालबन्दी नगरपालिका–१, नवलपुरस्थित एक आयुर्वेद औषधालयमा पायल्सको उपचार गराइरहेकी १८ वर्षीया हंशु पासवानको मृत्यु भएको हो। उनका परिवारजनका अनुसार उपचारका क्रममा चिकित्सकले लापरबाही गरेको र गलत शल्यक्रियाको कारण स्वास्थ्य जटिल भएको दाबी गरिएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक सरोज राईका अनुसार, शल्यक्रियापछि किशोरीको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई थप उपचारका लागि हरिवनस्थित निजी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।
घटनापछि आक्रोशित स्थानीयबासी र परिवारजनले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्दै टायर बालेर प्रदर्शन गरेका थिए। केही समय यातायात प्रभावित भए पनि सुरक्षा निकायको पहलपछि स्थानीय र पीडित परिवारबीच सहमति बनेपछि यातायात पुनः सामान्य भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटना सम्बन्धी आवश्यक अनुसन्धान जारी रहेको छ र उपचारमा संलग्न चिकित्सकलाई नियन्त्रणमा राखेर थप कानूनी प्रक्रिया अघि बढाइएको छ।


