
२७ मंसिर, काठमाडौं – जनमत पार्टीका अध्यक्ष सीके राउतले सप्तरीमा मलखाद कालाबजारीविरुद्ध कडा कदम उठाउने चेतावनी दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनको सचिवालयले किसानहरूलाई मलखाद वितरणमा कुनै पनि प्रकारको भेदभाव, मूल्यवृद्धि, वा कालाबजारी भएको सूचना दिन आग्रह गरेको छ।
“मलखाद कालाबजारी र भेदभावको सूचना दिनुहोस्। हामी तुरुन्त छापा मार्नेछौं र कानूनी कारबाही गर्नेछौं,” राउतको सचिवालयले लेखेको छ। मलखादको उचित वितरणमा कुनै पनि प्रकारको अनियमितता भए वा पार्टीगत स्वार्थका कारण भेदभाव गरिएको पाए तत्काल जानकारी गराउन उनले किसानलाई अपिल गरेका छन्।
उनले भनेका छन्, “सप्तरीका कुनै पनि क्षेत्रमा मलखादको मूल्य बढी लिएको, उपलब्ध मलखाद वितरण नगरेको, वा डिलरहरूले टाठाबाठालाई मात्र वितरण गरेर सर्वसाधारण किसानलाई बेवास्ता गरेको सूचना पाइए तत्काल छापा मारेर कारबाही हुनेछ।”
त्यस्तै, कुनै डिलरले कालाबजारी गरेको प्रमाणित भए मलखाद जफत गरी कानूनी मुद्दा चलाइने चेतावनी पनि दिइएको छ। प्रहरी प्रशासनले कालाबजारीलाई समर्थन गरेको प्रमाण भेटिए उनीहरूमाथि पनि कडा कदम चालिने राउतको सचिवालयले स्पष्ट पारेको छ।
मलखादको आपूर्तिमा हुने अनियमितता र कालाबजारीले किसानहरूको उत्पादन प्रणालीमा गम्भीर प्रभाव पार्ने भएकाले जनमत पार्टीले यस विषयलाई प्राथमिकतामा राख्दै अनुगमनलाई तीव्र बनाएको छ।


