सप्तरी, वैशाख १७। सप्तरी प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाजासहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार छुट्टाछुट्टै दुई स्थानबाट गरी १ सय ३८ केजी गाजा बरामद गरिएको हो।
पक्राउ पर्नेमा उदयपुरको बेलका नगरपालिका वडा नं ३ का करिब ४३ वर्षीय जयराम दाहाल रहेका छन्। उनलाई तिरहुत गाउँपालिका वडा नं २ स्थित वडहराबाट अटो रिक्सामा गाजा बोकेर जाँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो। उक्त अटो (प्र. १–०२–००३ ह २८३४) बाट ५८ केजी गाजा फेला परेको प्रहरीले जनाएको छ।
त्यस्तै, अर्को स्थान कञ्चनपुर नगरपालिका वडा नं २ बरमझियाबाट अर्को अटो (स. १ ह. १७१६) जाँच गर्दा त्यसमध्ये ७९.७६ केजी गाजा बरामद गरिएको हो। उक्त अटोमा ३ वटा बोरा, एउटा सुटकेस र एउटा झोलामा लुकाएर राखिएको अवस्थामा गाजा फेला परेको प्रहरीले जानकारी दिएको छ।
बरामद गरिएको गाजा सेतो प्लास्टिकका बोरा र पोका भित्र लुकाइएको थियो। बरमझियाबाट बरामद गरिएको अटोमा भने चालक फरार रहेको प्रहरीको भनाइ छ। यद्यपि वडहराबाट पक्राउ परेका अटो चालक दाहाल हाल प्रहरी नियन्त्रणमा छन्।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी जितेन्द्र बस्नेतका अनुसार दुबै अटो र गाजा नियन्त्रणमा लिइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।


