१७ चैत, वीरगञ्ज । सखुवा प्रसौनी गाउँपालिकामा स्थानीय नागरिकहरूले सूचनाको हकको प्रयोग गर्दै आवश्यक विवरणहरू माग गरेका छन्। पारदर्शिता र सुशासनलाई बलियो बनाउन उनीहरूले गाउँपालिका कार्यालयमा निवेदन दर्ता गराएका छन्।
निवेदनमा नागरिकहरूले मुख्य रूपमा तीन विषयमा जानकारी माग गरेका छन् :
१. सूचना उपलब्ध नगरिएको कारण – २०७९/१२/२८ र २०८०/०४/०१ मा दर्ता भएका निवेदनहरूको अद्यावधिक अवस्था र सूचना उपलब्ध नगराउनुको कारणको स्पष्ट विवरण।
२. इन्धन खर्चको पारदर्शिता – आर्थिक वर्ष २०७९/८०, २०८०/८१, र २०८१/८२ का इन्धन खर्चको विवरण, खर्च मिति तथा रकमको सार्वजनिक प्रतिवेदन।
३. सवारी साधनसम्बन्धी विवरण – गाउँपालिकाका सवारी साधनहरूको प्रयोगकर्ता विवरण, नामावली, मर्मत खर्च तथा इन्धन खर्चका प्रमाणित कागजातहरूको सार्वजनिकरण।
नागरिकहरूले नेपालको अन्तरिम संविधान २०६३ को धारा २७ र सूचनाको हक ऐन २०६४ को दफा ३ तथा ७ को आधारमा प्रमाणित प्रतिलिपि माग गरेका छन्।
यो कदमले स्थानीय सरकारको पारदर्शिता र जवाफदेहितामा सुधार ल्याउने अपेक्षा गरिएको छ। सार्वजनिक सूचना प्राप्त गर्ने अधिकारको उपयोग गर्दै नागरिकहरूले प्रशासनिक कार्यहरूलाई थप उत्तरदायी बनाउन पहल गरेका छन्। पारदर्शी शासन प्रणालीका लागि यस्तो नागरिक चासोले महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।


