निरजन शाह,
रुकुम पश्चिम, चौरजहारी। रुकुम पश्चिमको चौरजहारी नगरपालिका–२ निवासी एक महिलाले घरेलु विवादका क्रममा आफ्नै श्रीमानको हत्या गरेको आरोपमा पक्राउ परेकी छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार ३२ वर्षीया दिपा कुमालले आफ्ना ४० वर्षीय श्रीमान् मधु कुमालको हत्या गरेकी हुन्। घटना मङ्गलबार बिहान करिब २:३० बजे भएको बताइएको छ।
प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार, प्रारम्भिक अनुसन्धानले घरायसी विवादकै क्रममा दिपाले चिर्पटले हानेर मधुको हत्या गरेको देखाएको छ। मृतकका छोरा खिम कुमालले घटनाबारे प्रहरीलाई जानकारी गराएपछि इलाका प्रहरी कार्यालय चौरजहारीबाट प्रहरी निरीक्षक दीपेन्द्र रावलको नेतृत्वमा टोली खटिएको थियो।
घटनास्थलबाट आरोपित महिलालाई नियन्त्रणमा लिइएको छ भने मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल लैजाने तयारी भइरहेको छ।
प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको र घरेलु विवादकै कारण यो घटनाले उग्र रूप लिएको प्रारम्भिक निष्कर्ष निकालेको छ। यस घटनाले परिवारभित्रको आपसी द्वन्द्वले कस्तो दु:खद रूप लिन सक्छ भन्ने देखाएको छ।


