वीरगञ्ज । लगातारको चिसो मौसम र घना कुहिरोका कारण वीरगञ्ज महानगरपालिकाले विद्यालय बिदा फेरि थप गर्ने निर्णय गरेको छ। विद्यार्थीहरूको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै महानगरले दोस्रो पटक बिदा अवधि बढाएको हो।
यसअघि महानगरपालिकाले पुस ७ देखि १४ गतेसम्म सामुदायिक तथा निजी विद्यालयमा पठनपाठन स्थगित गरेको थियो। तर मौसममा अपेक्षित सुधार नआएपछि चिसो अझै तीव्र रहेको भन्दै थप तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको हो।
महानगर प्रमुख राजेशमान सिंहको निर्देशनअनुसार पुस १६ गतेदेखि १८ गते (शुक्रबार) सम्म सबै विद्यालय बन्द रहनेछन्। शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेका अनुसार पुस १९ गते शनिबार परेकाले अब पुस २० गते आइतबारदेखि मात्र विद्यालयहरू नियमित रूपमा सञ्चालन हुनेछन्।
यसअघि सार्वजनिक गरिएको सूचनामा पुस १५ गते तमु ल्होसारको सार्वजनिक बिदा रहेकाले पुस १६ गतेदेखि विद्यालय खुल्ने जनाइएको थियो। तर तराई क्षेत्रमा शीतलहर र कुहिरोको प्रभाव यथावत् रहेकाले बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने जोखिमलाई ध्यानमा राख्दै बिदा थप गर्नुपरेको महाशाखाले स्पष्ट पारेको छ। दिइएको बिदा वार्षिक बिदाबाट कट्टा हुने जनाइएको छ।
पुस महिनामा तराई क्षेत्रमा चिसो र कुहिरो बढ्दा विद्यार्थीहरूलाई विद्यालय आउजाउ गर्न कठिनाइ हुने र रुघाखोकी लगायतका स्वास्थ्य समस्या देखिन सक्ने भएकाले यो निर्णय गरिएको हो। पछिल्ला दिनहरूमा चिसो अत्यधिक बढेकाले जोखिम न्यूनीकरण गर्न बिदा आवश्यक ठानिएको महानगरपालिकाको भनाइ छ।
यस निर्णयले वीरगञ्जका हजारौँ विद्यार्थीलाई राहत मिलेको छ भने अभिभावकहरूले पनि बालबालिकाको स्वास्थ्यलाई प्राथमिकतामा राखिएको भन्दै सकारात्मक प्रतिक्रिया दिएका छन्। शैक्षिक प्रशासन महाशाखाले मौसममा सुधार आएमा थप सूचना सार्वजनिक गरिने जनाएको छ।


