काठमाडौं, २ बैशाख — काठमाडौंमा दुई सातादेखि जारी शिक्षक आन्दोलनले शिक्षा क्षेत्रमा व्यापक असर पारिरहेका बेला नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा समाधान खोज्न सक्रिय भएका छन्।
विद्यालय बन्द गरी आन्दोलनमा उत्रिएका शिक्षक र विद्यालय कर्मचारीहरूले शिक्षा ऐन संशोधनको माग गर्दै राजधानी केन्द्रित प्रदर्शन गरिरहेका छन्। उनीहरूको माग सम्बोधनका लागि हाल संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल चलिरहेको भए पनि कुनै ठोस निर्णय नआएपछि कांग्रेस नेताहरूले प्रत्यक्ष पहल थालेका हुन्।
गत चैत २० गतेदेखि जारी आन्दोलनमा शिक्षकहरूले ‘शिक्षक तथा विद्यालय कर्मचारी मैत्री ऐन’ संसदबाट पारित गर्नुपर्ने वा अध्यादेशमार्फत ल्याउनुपर्ने माग गर्दै आएका छन्। सरकारले माग सम्बोधन नगरेसम्म विद्यालय फर्कन नमिल्ने अडानमा शिक्षकहरू उभिएका छन्।
शिक्षा प्रणालीमा परिरहेको असर, विद्यार्थीको भविष्यमा पर्न सक्ने प्रभाव र आन्दोलन चर्किंदै गएपछि थापा र शर्माले सम्वाद र सहमतिको माध्यमबाट समाधान खोज्न अग्रसरता देखाएका हुन्।
अब सरकारले के कदम चाल्नेछ? र, शिक्षकरको आन्दोलन कति लम्बिनेछ? यतिबेला सबैको नजर यसतर्फ केन्द्रित छ।


