वीरगञ्ज ९पर्सा०, पुस ९
चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा वीरगञ्ज नाका हुँदै नेपालमा भित्रिएको पेट्रोलियम पदार्थको आयात उल्लेख्य रूपमा बढेको छ। यस अवधिमा करिब ७२ अर्ब २८ करोड रुपैयाँ बराबरका विभिन्न पाँच प्रकारका पेट्रोलियम पदार्थ आयात भएका छन्।
वीरगञ्ज भन्सार कार्यालयका अनुसार पेट्रोलियम पदार्थको बढ्दो आयातसँगै राजस्व संकलनमा पनि सुधार देखिएको छ। पाँच महिनाको अवधिमा पेट्रोलियमजन्य वस्तुबाट मात्रै ३० अर्ब २५ करोड रुपैयाँ राजस्व उठेको सूचना अधिकृत उदयसिंह विष्टले जानकारी दिनुभयो।
गत आर्थिक वर्षको सोही पाँच महिनाको तुलनामा चालु आवमा राजस्व संकलन ६।४२ प्रतिशतले वृद्धि भएको छ। रकमका आधारमा हेर्दा अघिल्लो वर्षभन्दा करिब १ अर्ब ८३ करोड रुपैयाँ बढी राजस्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ। गत आवको पाँच महिनामा भने ६९ अर्ब १५ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको थियो।
चालु आवमा सबैभन्दा बढी डिजेल आयात भएको देखिन्छ। वीरगञ्ज नाका हुँदै ३५ अर्ब ३१ करोड रुपैयाँ बराबरको डिजेल भित्रिएको छ। त्यसैगरी १२ अर्ब १७ करोड रुपैयाँको एलपी ग्यास आयात भएको छ भने पेट्रोल १७ करोड ३६ लाख रुपैयाँ बराबर भित्रिएको छ।
त्यस्तै, हवाई इन्धन ९एटिएफ० ७ अर्ब २५ करोड रुपैयाँ र मट्टितेल करिब १९ करोड रुपैयाँ बराबरको आयात भएको तथ्यांकमा उल्लेख छ। पेट्रोलियम पदार्थको माग बढिरहेकाले आयात र राजस्व दुवैमा सकारात्मक प्रभाव परेको भन्सार कार्यालयको भनाइ छ।


