वीरगञ्ज – गौतम स्कुलले आफ्नो ४८औँ वार्षिकोत्सवको अवसर पारेर पहिलो पटक अन्तरविद्यालय बाल फुटबल प्रतियोगिता आयोजना गर्ने तयारी गरेको छ। माघ १० गतेदेखि १५ गतेसम्म एसएसपी ग्राउन्डमा सञ्चालन हुने यस प्रतियोगितामा निजी विद्यालयका विद्यार्थीहरूको सहभागिता रहनेछ।

मङ्गलबार लिटिल एन्जल एकेडेमीमा आयोजित पत्रकार सम्मेलनमा संयोजक तथा लिटिल एन्जल स्कुलका निर्देशक सन्नी पाख्रिनले प्रतियोगिताबारे जानकारी दिए। उनका अनुसार १५ वटा निजी विद्यालयका विद्यार्थीहरू प्रतियोगितामा सहभागी हुनेछन्। सहभागी टोलीहरूलाई ए र बी समूहमा विभाजन गरिने योजना रहेको छ।


पत्रकार सम्मेलनका प्रमुख अतिथि प्याब्सन वीरगञ्ज महानगरका अध्यक्ष राहुल श्रीवास्तवले गौतम स्कुलले यस प्रकारको प्रतियोगिता आयोजना गरेर नयाँ पहल गरेको बताउँदै आगामी दिनमा प्याब्सनले पनि निजी र सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई समेटेर यस्ता प्रतियोगिता सञ्चालन गर्ने योजना रहेको उल्लेख गरे।
प्रतियोगितामा सहभागी विद्यालयहरूमा गौतम स्कुल, मनकामना स्कुल, मिनी ल्यान्ड स्कुल, न्यु वेभ स्कुल, ओम नेशनल एकेडेमी, जीवन ज्योति मावि, लिटिल एन्जल स्कुल, एसआर ग्यालेक्सी स्कुल, सनलाइट मावि, ज्ञान ज्योति मावि, मालिनी स्कुल, सनसाइन स्कुल र माउन्ट मकालु स्कुल रहेका छन्।
प्रतियोगिताका लागि करिब २ लाख ११ हजार खर्च लाग्ने अनुमान गरिएको छ। खेल अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई ‘बेस्ट प्लेयर’, ‘बेस्ट फरवार्ड’, ‘बेस्ट डिफेन्डर’, अनुशासित टोली, उत्कृष्ट फिल्डलगायत विधाहरूमा पुरस्कार, शिल्ड र प्रमाणपत्र प्रदान गरिनेछ। संयोजक सुरज पटेलले उत्कृष्ट प्रदर्शन गर्ने रेफरी र कोचलाई पनि सम्मान गरिने जानकारी दिए।
कार्यक्रमको अध्यक्षता गौतम स्कुलका व्यवस्थापक गणेश क्षेत्रीले गरेका थिए। प्याब्सन मधेस प्रदेशका सल्लाहकार मनि पाख्रिन, सल्लाहकार हरि श्याम ठाकुर, निवर्तमान महानगर अध्यक्ष आलोक चौरसिया, जीवन ज्योति स्कुलका प्रिन्सिपल शिवजी गुप्ता र रेफरी अर्जुन गुप्तालगायतले आफ्ना धारणा राखेका थिए।
कार्यक्रमको सहजीकरण गौतम स्कुलका व्यवस्थापक शौराज प्रधानले गरेका थिए।


