वीरगञ्ज । दीपावली तथा छठ पर्वको अवसरमा वीरगञ्ज कपडा बैंकले शनिबार वीरगञ्जको घण्टाघरमा निःशुल्क कपडा वितरण तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। नियमितरूपमा असहाय तथा आर्थिक रूपमा कमजोर व्यक्तिहरूलाई निःशुल्क कपडा उपलब्ध गराउँदै आएको बैंकले शनिबार करिब १,२०० थान नयाँ र पुराना कपडाहरू वितरण गरेको हो।
कार्यक्रम वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबू सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा समाजसेवी तथा अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मी रहेका थिए भने अन्य सल्लाहकारहरू, समाजसेवीहरू, पत्रकार महासंघका प्रतिनिधिहरू, सामुदायिक प्रहरीका प्रतिनिधिहरू तथा कपडा बैंकका पदाधिकारीहरू पनि सहभागी थिए। प्रमुख अतिथि कुर्मिले समाजमा दिनदुःखी तथा असहायहरूलाई सहयोग पुर्याउने उद्देश्यले स्थापना गरिएको कपडा बैंकको प्रशंसा गर्दै सबैसँग सहयोगको अपिल गरे।
सचिव कन्हैया पटेलका अनुसार कपडा बैंकले प्रत्येक दिन आइतबारदेखि शुक्रबारसम्म बिहान १०:३० देखि ५ बजेसम्म कार्यालयबाट निःशुल्क कपडा वितरण गरिरहेको छ। विशेष अवसरहरूमा तथा प्राकृतिक विपत्तिका घटनाहरूमा भने पीडितहरूका घरमै पुगेर सहयोग गर्ने काम पनि गर्दै आइरहेको कपडा बैंकले आगामी दिनमा पनि सेवा जारी राख्ने योजना बनाएको छ।सल्लाहकार अधिवक्ता प्रकाश उपाध्याय, समाजसेवी हुकुम सिंह राजपूत, पत्रकार युवराज खडका लगायतका वक्ताहरूले पनि कपडा बैंकको यो प्रयासलाई प्रशंसा गर्दै सबै दाता र सहयोगीप्रति आभार व्यक्त गरे। कार्यक्रममा अध्यक्ष सिंहले “आफ्नो आम्दानीको केही प्रतिशत असहायहरूको सेवामा खर्च गर्ने बानी बसाल्नुपर्छ,” भन्दै सहयोगलाई निरन्तरता दिन सबैलाई आग्रह गरे।
कार्यक्रमका क्रममा रामबाबु सिंह, युवराज पटेल, मन्टु सिंह लगायतका दाताहरूले पनि कपडा सहयोग गरेका थिए।


