वीरगंज, पर्सा – वीरगंज महानगरपालिका सुरक्षित र सुव्यवस्थित बनाउने उद्देश्यसहित सिसीटीभी क्यामेराको सञ्जाल विस्तारको तयारी अघि बढाइएको छ। यस अभियानलाई मूर्तरूप दिन सोमबार विभिन्न बैंकहरूले संयुक्त रूपमा १७ लाख ७५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन्।
महानगर प्रमुख राजेशमान सिंहको नेतृत्वमा सञ्चालित “सुरक्षित वीरगंज अभियान” अन्तर्गत बैंक तथा वित्तीय संस्थाहरूलाई सहकार्यको आह्वान गरिएको थियो। सोही अनुरूप पर्सा जिल्लामा सञ्चालित विभिन्न बैंकहरूबाट उक्त रकम संकलन गरिएको हो।
बैंकर्स एसोसिएसन पर्साका संयोजक रोहिणी आचार्यको समन्वयमा बैंकहरूलाई अभियानमा सहभागी गराइएको थियो। उनले बाँकी बैंकहरूबाट पनि चाँडै सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेका छन्। हालसम्म १६ वटा बैंकले आर्थिक सहयोग गरेका छन् भने सबैभन्दा बढी योगदान नबिल बैंकबाट ३ लाख रुपैयाँको रहेको छ।
महानगर, जिल्ला प्रहरी कार्यालय र सेफर वीरगंजको संयुक्त प्रयासमा संकलित रकमबाट वीरगंजका प्रमुख चोक, सडक र भीडभाड क्षेत्रहरूमा नयाँ सिसीटीभी क्यामेरा जडान गरिने योजना रहेको महानगर प्रमुख सिंहले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले सिसीटीभी क्यामेराले अपराध नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने भन्दै सम्पूर्ण शहर क्षेत्रमा यसको विस्तार अपरिहार्य रहेको बताए। उनले सहयोग उपलब्ध गराउने सम्पूर्ण बैंकहरूलाई धन्यवाद दिँदै यस अभियानलाई अझ व्यापक बनाउन सबै पक्षको सहभागिता आवश्यक रहेको बताए।
सोमबार आयोजित कार्यक्रममार्फत बैंकहरूले दिएको सहयोग महानगर प्रमुख सिंहको रोहबरमा सेफर वीरगंजलाई हस्तान्तरण गरिएको छ।


