निरञ्जन शाह ,
चैत ०२, वीरगंज
वीरगंजमा पनि विश्व उपभोक्ता दिवस २०८१ उल्लासमय वातावरणमा मनाइएको छ। “उपभोक्ता संरक्षणको दिगो आधार” भन्ने मूल नाराका साथ आज शनिबार वीरगंज उद्योग वाणिज्य संघको सभाहलमा विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो।
उद्योग विभाग वीरगंज पर्सा र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगंज पर्साको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो। उक्त कार्यक्रमका प्रमुख अतिथि पर्सा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी निशान्त राज गौतम रहनुभएको थियो भने अध्यक्षता उद्योग विभाग वीरगंजकी प्रमुख रिमा साह ले गर्नुभएको थियो।
कार्यक्रमका दौरान वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगंजका प्रमुख सुनिल चौरसिया ले उपभोक्ताले वस्तु तथा सेवाको खरिद–विक्री गर्दा ध्यान दिनुपर्ने आवश्यक सावधानीबारे जानकारी गराएका थिए। साथै, जनस्वास्थ्यसँग खेलबाड गर्ने उद्योग तथा उत्पादकहरूलाई कानुनी दायरामा ल्याइने र कडा सजायको प्रावधान रहेको समेत उनले बताए।
उपभोक्ता हकहित संरक्षण मञ्च पर्साका उपाध्यक्ष अजित भुजेल ले बजार अनुगमनपछि लागाइने जरिवाना तथा कारबाहीलाई थप पारदर्शी बनाउनुपर्ने सुझाव दिए। उनले उपभोक्ता अदालत गठनको आवश्यकताबारे चर्चा गर्दै अनुगमनको प्रभावकारिता वृद्धि गर्न आग्रह गरे।
कार्यक्रममा कालिकामाई गाउँपालिकाकी उपप्रमुख राजमती देवी, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल पटवारी, वरिष्ठ उपाध्यक्ष हरी गौतम, उपाध्यक्ष माधवराजपाल, पोखरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिनय श्रीवास्तव, सशस्त्र प्रहरीका डिएसपी महेंद्र सिंह धामी लगायत उपभोक्ता, व्यापारी, उद्योगी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगंजका प्रमुख सुनिल चौरसिया ले गर्नुभएको थियो।


