
काठमाडौं – देशभरको हवाई उडान प्रतिकूल मौसमको कारण प्रभावित बनेको छ। कमजोर ‘भिजीबिलिटी’का कारण आन्तरिक हवाई उडान अवरुद्ध भएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘भिएफआर’ उडान जारी रहे पनि काठमाडौं बाहिरका अधिकांश विमानस्थलमा बिहान उडान सम्भव भएको छैन। प्रवक्ता रिञ्जी शेर्पाका अनुसार भद्रपुर, भरतपुर, पोखरा र सुर्खेत बाहेक अन्य विमानस्थलमा उडान प्रभावित भएका छन्।
काठमाडौं विमानस्थलमा भने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान नियमितरूपमा सञ्चालन भइरहेका छन्। केही विमानस्थलमा भने सिधा उडान हुन नसकेको बताइएको छ।

बुद्ध एयरका प्रवक्ता दीपेन्द्रकुमार कर्णले भद्रपुर, भरतपुर, पोखरा र सुर्खेतमा उडान खुलेको भए पनि अन्य स्थानमा कम ‘भिजीबिलिटी’का कारण उडान सम्भव नभएको बताए। उनले तराई क्षेत्रमा बाक्लो हुस्सुका कारण विमानस्थल ढिलो खुल्ने गरेको उल्लेख गरे।
जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। मौसमविद् बिनु महर्जनले कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र मधेस प्रदेशमा साधारणतया बदली रहेको बताए।
“भोलि सोमबार बदलीको मात्रा बढी हुनेछ र केही स्थानमा वर्षाको सम्भावना छ,” महर्जनले भने। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रहरूमा हल्का वर्षा हुने सम्भावना छ। सोमबार र मंगलबार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना बढ्ने मौसमविद् महर्जनले जानकारी दिए।


