रौतहट । चन्द्रनिगाहपुर—धन्सार सडक खण्डको लमाह पुल नजिक एलपी ग्यास बोकेको बुलेट दुर्घटना भएपछि मंगलबार विहानदेखि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ।
भारतको रक्सौलबाट धनुषाको महेन्द्रनगरतर्फ जाँदै गरेको युपी १७ ए टी २११४ नम्बरको ग्यास ट्याङ्कर विहानै दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनापछि राजमार्ग खुलाउने प्रयास सुरु भए पनि प्राविधिक कारणले अझै सडक सञ्चालनमा आउन सकेको छैन।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक रुपा लाबुङका अनुसार बिहान ९ बजेदेखि ग्यास कम्पनी र नेपाल आयल निगम वीरगञ्ज शाखाका प्राविधिक टोलीले बुलेट हटाउन प्रयास गरिरहेका छन्। दुर्घटनास्थलमा छ वटा क्रेन प्रयोग गरिएको भए पनि बुलेटबाट लिक भएको ग्यासका कारण काममा ढिलाइ भइरहेको छ।
दुर्घटनामा ट्याङ्कर चालक, भारतको कदोरा जिल्ला, जयनगर थानाका ३५ वर्षीय पवन यादव घाइते भएका छन्।
यस कारण पूर्वतर्फका सवारीसाधन चन्द्रनिगाहपुरमा रोकिएका छन् भने केही सवारीसाधनले रौतहटको चन्द्रनिगाहपुर—गौर मार्ग हुँदै बालचनपुर, जङ्गल सहिया भएर धन्सारसम्म करिब ३५ किलोमिटर लामो वैकल्पिक बाटो प्रयोग गरिरहेका छन्।


