काठमाडौं, पुस ११
केही महिनाअघि आन्तरिक विवादका कारण अलग भएका नागरिक उन्मुक्ति पार्टीका दुई धार पुनः एकतामा जाने भएका छन्। रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी नेपाल र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबीच शनिबार औपचारिक एकता घोषणा हुने तयारी गरिएको छ ।
गत भदौमा पार्टीभित्रको मतभेद चर्किएपछि अध्यक्ष रञ्जिता श्रेष्ठ नेतृत्वको पार्टीबाट रेशम चौधरी अलग भएका थिए। भदौ २९ गते उनले पार्टी परित्यागको घोषणा गर्दै कात्तिक २ गते निर्वाचन आयोगमा कविर सोबको अध्यक्षतामा ‘नागरिक उन्मुक्ति पार्टी नेपाल’ दर्ता गराएका थिए, जसमा चौधरी संरक्षकको भूमिकामा रहेका छन् ।
नागरिक उन्मुक्ति पार्टी नेपालले यसअघि नै राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल तथा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीसँग चुनावी तालमेल गर्दै एउटै चुनाव चिन्हमा निर्वाचनमा सहभागी हुने सहमति गरिसकेको छ ।
यही बीचमा अब रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी पुनः नागरिक उन्मुक्ति पार्टी नेपालसँग एकीकरण हुन लागेको हो। अध्यक्ष श्रेष्ठले एकताको तयारी अन्तिम चरणमा पुगेको पुष्टि गर्दै भनिन्, “केही कारणले उहाँहरू पार्टीबाट बाहिरिनु भएको थियो, अहिले मैले पहल गरेर सबैलाई फेरि एक ठाउँमा ल्याएकी हुँ ।”
स्रोतका अनुसार एकीकरणपछि नागरिक उन्मुक्ति पार्टी नेपालकै नाम, झण्डा र चुनाव चिन्हलाई निरन्तरता दिइनेछ, जसलाई रञ्जिता श्रेष्ठले स्वीकार गरेकी छन्। यस एकताले आगामी राजनीतिक गतिविधि र चुनावी समीकरणमा नयाँ प्रभाव पार्ने अपेक्षा गरिएको छ ।


