पोखरिया, पर्सा । राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराउने सेवाग्राहीहरूको भीड दिन प्रतिदिन बढ्दै गएको छ। अवस्था यस्तो छ कि पोखरिया नगरपालिका कार्यालयमा विवरण दर्ता गराउने नागरिकहरू रातभर लाइन बस्न बाध्य छन्।
नगरपालिकाले परिचयपत्र विवरण संकलनको कार्यलाई तीव्रता दिएको भए पनि जनशक्ति र उपकरणको अभावले काम प्रभावकारी रूपमा अगाडि बढ्न सकेको छैन। एकै दिनमा सीमित संख्यामा मात्र विवरण संकलन हुने भएकाले बिहान सबेरैबाट लाइन लाग्ने प्रचलन सामान्यजस्तै बनेको छ।
“हिजो बेलुका ८ बजेदेखि लाइनमा बसेको हुँ, बल्ल आज नम्बर आएको छ,” पोखरियाका वर्षी हरुले भने, “न त छिटो सेवा, न त कुनै व्यवस्थापन।”
स्थानीय निकायका अनुसार एक दिनमा करिब ८०–१०० जनाको विवरण मात्रै संकलन गर्न सकिने अवस्था छ। यस्तै विवरण दर्ता गर्न आएका बुढापाकाहरु, महिलाहरु र विद्यार्थीहरू पनि सेवा पर्खनैपर्ने बाध्यता रहेको स्थानीयवासीको गुनासो छ।
पोखरिया नगरपालिकाका सूचना अधिकारी रमेशकुमार यादव भन्छन्, “हामीले सकेसम्म छिटो विवरण संकलन गर्न कर्मचारी खटाएका छौं, तर उपकरण र प्राविधिक जनशक्ति अभावका कारण गति ढिलो भइरहेको छ।”
नागरिकहरू चाँडो सेवा पाउने आशामा रातभर लाइनमा बस्न तयार भए पनि प्रशासनले व्यवस्थापन सुधार नगरे साँघुरिँदो भीड र असन्तुष्टि अझै बढ्ने देखिन्छ।


