रवि भुजेल २८ पुस, काठमाडौं।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौं जिल्ला प्रहरी हिरासतमा रहनुपर्ने भएको छ। सोमबार न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले पुनः अदालत पेस गर्ने निर्णय लिएकाले लामिछानेलाई प्रहरी जिम्मा लगाइएको हो।

अदालतमा लामिछानेको बयान दिन थालिएको थियो, तर थुनछेक बहस सुरु नभएकाले सोमबार फेरि उपस्थित गराउने शर्तमा उनलाई हिरासतमा राख्ने आदेश भएको छ। सोमबार बिहानै बबरमहलस्थित जिल्ला अदालत पुगेका लामिछानेले आफ्नो बयान सकाएका थिए। धरौटी मागेमा छुट्न सक्ने भए पनि, बयान नसकिएकाले उनलाई हिरासतमा नै राख्ने निर्णय भएको छ।

सूर्य दर्शन सहकारी ठगी प्रकरणमा गत कार्तिक २ गते पक्राउ परेका लामिछाने ८४ दिनपछि ६५ लाख धरौटी बुझाएर पोखराबाट छुटेका थिए। कास्की जिल्ला प्रहरी हिरासतबाट मुक्त भए पनि शुक्रबार राति मात्र काठमाडौं आइपुगेका कारण उनले शनिबार अदालतमा हाजिर हुन सकेका थिएनन्। उनकी श्रीमती निकिता पौडेलका अनुसार समय अभावका कारण हाजिर हुन नसकेका थिए।
अहिले उनी कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनसम्बन्धी मुद्दामा प्रतिवादी बनाइएका छन्। प्रहरीको आरोपअनुसार सहकारीका ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना भएको छ। यसै प्रकरणमा लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ।


