वीरगंज, असार ७ — “रक्तदान जीवनदान हो” भन्ने मुल नारासहित शनिबार वीरगंज सिटी मार्केट परिवारको आयोजनामा विशेष रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। आकस्मिक रक्त अभावका कारण कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने मानवीय उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको हो।
वीरगंज सिटी मार्केटको छेउमा रहेको रोयल पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा एक जना महिलासहित कुल ५१ जना स्वयंसेवकले रक्तदान गरे। रक्त संकलनमा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले सक्रिय सहयोग पुर्याएको थियो।
कार्यक्रमका प्रमुख अतिथि पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले यस्ता अभियानले समाजमा सकारात्मक सन्देश दिने बताए। “सामाजिक उत्तरदायित्वको भावना बोकेर आयोजित यस किसिमको कार्यक्रमले जीवन र मृत्युको सिमानामा रहेकालाई नयाँ जीवन दिन सक्छ,” उनले भने।
विशिष्ट अतिथिका रूपमा नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति ब्रिज किसोर पटेल र ब्लड डोनर्स एसोसिएसन नेपाल, पर्साका सचिव अरबिन्द सिंहको उपस्थिति रहेको थियो। दुवैले रक्तदानलाई नियमित सामाजिक अभियानमा रूपान्तरण गर्नु आवश्यक रहेकोमा जोड दिए।
कार्यक्रमका संयोजक विक्की सरार्फ र सञ्चालक पिन्टू रौनियारले सहभागी तथा सहकार्य गर्ने सबैप्रति आभार व्यक्त गर्दै यस्ता सामाजिक अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।
रगत जोगाएर जीवन जोगाउने उद्देश्यले गरिएको यो कार्यक्रमले स्थानीय युवामाझ उत्साहपूर्ण सन्देश दिएको छ। आयोजकहरूका अनुसार भविष्यमा पनि यस्ता कार्यक्रमलाई अझ प्रभावकारी ढंगले विस्तार गरिनेछ।


