वीरगन्ज, १५ माघ – सामाजिक सेवामा समर्पित युनाइटेड नेपाल फाउन्डेसन वीरगन्जले मङ्गलबार वीरगन्ज कपडा बैंकलाई न्यानो कपडा सहयोग प्रदान गरेको छ।

फाउन्डेसनका अध्यक्ष आकाश दास, सचिव पीयूष अग्रवाल, तथा कार्यक्रम संयोजक कुनाल श्रीवास्तवले कपडा बैंकको कार्यालय, वीरगन्ज-८ पुगेर अध्यक्ष लालबाबु सिंहलाई तीन बोरा र दुई झोला न्यानो कपडा हस्तान्तरण गरे। सो कार्यक्रममा बैंकका कोषाध्यक्ष मनोज मिश्रा, कर्मचारी शोभा देवी लगायतको उपस्थिति थियो।
फाउन्डेसनका अध्यक्ष दासले वीरगन्ज कपडा बैंकले वर्षौँदेखि विपन्न, असहाय तथा प्राकृतिक विपत्तिमा परेका पीडितलाई सहयोग गर्दै आएको उल्लेख गर्दै चिसो मौसममा नयाँ तथा लगभग नयाँ न्यानो कपडा उपलब्ध गराउन आफूहरूले साथ दिएको बताए। साथै, आगामी दिनमा पनि सहयोग निरन्तर रहने प्रतिबद्धता जनाए।
वीरगन्ज कपडा बैंकका अध्यक्ष सिंहले बैंकले “यदि तपाईंसँग धेरै छ भने, दिनुहोस्; यदि आवश्यक छ भने, निःशुल्क लिनुहोस्” भन्ने मूलमन्त्रलाई आत्मसात गर्दै पर्सा र बाराका विभिन्न क्षेत्रहरूमा सेवा दिँदै आएको बताए। फाउन्डेसनले यसअघि पनि विभिन्न सेवामूलक कार्य गर्दै आएको र अहिले प्रदान गरिएको कपडा सहयोगप्रति बैंकले आभार व्यक्त गर्दै आगामी दिनमा समेत यस्ता सहयोगको अपेक्षा गरिएको बताए।
साथै, उनले चिसो बढ्दै गएकाले सबैलाई न्यानो कपडा – कम्बल, शाल, ज्याकेट, स्वेटर, टोपी, इनर लगायतका सामग्रीहरू सहयोग गर्न आग्रह गरे।


