काठमाडौं । चर्चित र्यापर मिस्टर डी (सन्दीप विष्ट) र ‘भ्वाइस अफ नेपाल’की प्रतिभाशाली गायिका नीतु पुनले आउँदै गरेको फिल्म ‘आउट ल’ का लागि सांगीतिक सहकार्य गरेका छन्।
सुशिल श्रेष्ठ अभिनित यो फिल्मका लागि मिस्टर डी र नीतुले संयुक्त रूपमा मौलिक गीत (ओरिजिनल साउण्ड ट्रयाक) तयार पारेका छन्। गीतमा मिस्टर डीले र्याप, शब्द र मेलोडी दिएका छन् भने नीतुले आफ्नो सुन्दर स्वर भरेकी छिन्।
दुबै कलाकारले पहिलो पटक पाश्र्वगायनमा हात हालेका हुन्। मिस्टर डीको अघिल्लो सुपरहिट गीत ‘अख्खा छ’ पछि अब उनले ‘अन्धो कानुन’ नामक गीत ल्याएका छन्, जुन विशेष रूपमा सामाजिक यथार्थता झल्काउने खालको छ।
‘अन्धो कानुन’ बोलको गीतले देशमा विद्यमान अन्याय, शासक वर्गको असंवेदनशीलता, तथा नारी सुरक्षाका विषयमा गहिरो सन्देश दिएको छ। गीतमा कानुनको कमजोरीले समाजमा निम्त्याएको संकटलाई मार्मिक रूपमा उजागर गरिएको छ।


