काठमाडौं। राजधानीको माइतीघर मण्डलामा सोमबार युवाहरूको समूह ‘जेन–जी’ सडकमा उत्रिएको छ। मिराज ढुंगानाको अगुवाइमा भएको प्रदर्शनमा रविकिरण हमाल, निकोलस भुसाललगायत युवाहरूको उल्लेखनीय सहभागिता देखिएको छ।
प्रदर्शनकारीहरूले वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि जनाउँदै सर्वपक्षीय सरकार गठन नभएसम्म निर्वाचन गरिनु नहुने माग अघि सारेका छन्। उनीहरूको भनाइमा, देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको सुनिश्चितता बिना चुनावले जनअपेक्षा पूरा गर्न सक्दैन।
माइतीघरमा भेला भएका युवाहरूले ‘जेन–जीको प्राथमिकता चुनाव होइन, सुशासन हो’ भन्ने सन्देश लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए। उनीहरूले राजनीतिक दलहरूलाई सत्ता र स्वार्थ केन्द्रित राजनीति त्यागेर जनताको पक्षमा जिम्मेवार शासन प्रणाली निर्माण गर्न आग्रह गरेका छन्।
शान्तिपूर्ण रूपमा गरिएको यस प्रदर्शनले युवा पुस्तामा बढ्दो राजनीतिक चेतना र सुशासनप्रतिको मागलाई उजागर गरेको छ।


