वीरगञ्ज, पर्सा।
पर्सा जिल्लामा जनमत पार्टीप्रतिको जनआस्था दिनप्रतिदिन मजबुत हुँदै गएको देखिन्छ। पछिल्लो राजनीतिक गतिविधिमा, पर्साका विभिन्न क्षेत्रमा सक्रिय महिला उद्यमी तथा समाजसेवीहरूले पार्टीको औपचारिक सदस्यता लिएका छन्।
जिल्ला कार्यालय वीरगञ्जमा आयोजित विशेष कार्यक्रममा अनिता महतो, लालमुनी महतो, पूजा कुमारी साह, इन्दु देवी, बबिता देवी, सुदामा देवी, अर्चना चौधरी, रोमा चौधरी र सुगन्धी देवी लगायत समाजमा प्रभावशाली योगदान दिँदै आएका महिलाहरू जनमत पार्टीमा आवद्ध भएका हुन्।
पार्टी प्रवेश कार्यक्रममा जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफले महिलाहरूको उल्लेखनीय उपस्थिति पार्टीको संगठनात्मक मजबूतीका लागि प्रेरणादायक हुने बताएका छन्। “जनमत पार्टी सबै जाति, वर्ग र लिंगको प्रतिनिधित्व सुनिश्चित गर्न प्रतिबद्ध छ,” अध्यक्ष सर्राफले भने, “महिलाहरूको सहभागिता हाम्रो राजनीतिक यात्रामा शक्ति र विश्वासको प्रतीक हो।”
कार्यक्रममा केन्द्रीय सदस्य रम्भा मिश्रा, महिला जिल्ला अध्यक्ष अञ्जना गुप्ता, महानगर अध्यक्ष महादेव शर्मा लगायत पार्टीका अग्रज नेताहरूको उपस्थिति रहेको थियो।
क्षेत्रीय र स्थानीय तहका नेताहरू समेत सहभागी रहेको कार्यक्रममा, पार्टीले पर्सा जिल्लाका अन्य स्थानहरूमा समेत समान अभियान सञ्चालन गर्दै सयौं युवाहरूलाई पार्टीमा सहभागी गराउने रणनीति अघि बढाएको जानकारी दिइएको छ।
जनमत पार्टी पर्सा जिल्ला इकाइले आगामी दिनमा सामाजिक र राजनीतिक चेतना अभिवृद्धिमा महिलाको भूमिकालाई अझ सशक्त बनाउने योजना अघि सारेको छ। अध्यक्ष सर्राफका अनुसार, “यो अभियानले पार्टीको पहुँचलाई गाउँगाउँसम्म पुर्याउनेछ र मधेस प्रदेशमा जनमत पार्टीलाई विकल्पको रुपमा स्थापित गर्नेछ।”


