वीरगंज — लामो समयदेखि खानेपानीको चरम अभाव भोगिरहेका वीरगंजवासीले केही दिनयता राहतको अनुभूति गर्न थालेका छन्। खानेपानी मन्त्री प्रदीप यादवले केही दिनअघि पानी अभावग्रस्त बस्तीतर्फ गरेको स्थलगत भ्रमणपछिकै तीन दिनभित्र ५० भन्दा बढी स्थानमा डिप बोरिङको काम अघि बढेसँगै आशाको किरण देखिएको छ।

मन्त्री यादवले वीरगंज महानगरको विभिन्न वडामा अनुगमन गर्दै दुईदेखि तीन दिनभित्र तत्काल समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। हाल डिप बोरिङ जडान कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ। मन्त्रीका स्वकीय सचिव हरेन्द्र साहका अनुसार वडा नं. ११ को विद्यापति टोल, वडा नं. १३ को राधेमाई, वडा नं. १४ बौधीमाई, वडा नं. २१ को परवानीपुर तत्वाटोल र कोरिया टोल, साथै वडा नं. २४ को रामगढवा मनमोहन टोलमा पाइपलाइनमार्फत पानी आपूर्ति लगभग अन्तिम चरणमा पुगेको छ।
सचिव साहले अन्य स्थानहरूको पनि मूल्यांकन भइरहेकाले बाँकी क्षेत्रमा पनि चाँडै समस्या समाधान हुने बताए। मन्त्री यादव आफैँ टोलटोल पुगेर स्थानीयवासीसँग संवाद गर्दै तत्कालै खानेपानीको पहल लिएकोप्रति नागरिकले सन्तोष व्यक्त गरेका छन्।
विद्यापति टोलका स्थानीय युवा सुनिल महतोले भने, “हाम्रा समस्या बुझेर तुरुन्तै समाधानतर्फ लाग्ने मन्त्री हुनुहुन्छ, उहाँको काम प्रशंसनीय छ।” त्यस्तै, रामगढवा टोलकी मिरा देवी कुर्मीले भने, “मन्त्री आउनुभएको तीन दिनमै काम थालिएको देख्दा विश्वास लाग्यो, उहाँप्रति कृतज्ञता व्यक्त गर्छु।”

स्थानीयवासीहरूले सिर्सिया नदीको सरसफाइले पानीका वैकल्पिक आवश्यकता पूरा गर्न सक्ने जनाउँदै, सरोकारवाला सबैले मिलेर अभियान चलाउनुपर्ने सुझाव दिएका छन्।
यही सन्दर्भमा मन्त्री यादवले महानगरको १ र २ नम्बर क्षेत्रका वडामा अनुगमन तथा छलफल गर्दै तत्काल र दीर्घकालीन समाधानका लागि रणनीति बनाइरहेको बताएका छन्। “जस क्षेत्रमा पाइपलाइन छैन, त्यहाँ १०० भन्दा बढी डिप बोरिङको व्यवस्था मिलाइसकिएको छ, थप ४०–५० स्थानमा पनि निर्देशन दिइसकेको छु,” मन्त्री यादवको भनाइ छ।
पर्सा जिल्लाका साथै अन्य पालिकामा पनि खानेपानी अभाव देखिएकाले आफू सक्रिय भएर समाधानतर्फ लागिरहेको उल्लेख गर्दै मन्त्री यादवले निष्कर्षमा भने, “कुनै पनि नेपाली नागरिक प्यासा बस्न नपरोस् भन्ने मेरो संकल्प हो।”


