काठमाडौं – तिब्बतको सिगात्से क्षेत्रमा मङ्गलबार गएको शक्तिशाली भूकम्पका कारण हालसम्म मृत्यु हुनेको संख्या ९५ पुगेको छ भने १३० जना घाइते भएका छन्।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार, बिहान स्थानीय समयअनुसार ९:०५ मा गएको भूकम्पको तीव्रता ६.८ म्याग्निच्युड रहेको छ। भूकम्पको केन्द्रविन्दु चीनको सिजाङ स्वशासित क्षेत्रअन्तर्गत पर्ने डिङ्गयी काउन्टी रहेको जनाइएको छ।


चाइना अर्थक्वेक नेटवर्क सेन्टरका अनुसार, भूकम्पको गहिराइ १० किलोमिटर मात्र रहेको थियो। यद्यपि, अमेरिकी भूगर्भ विभाग (यूएस जियोलोजिकल सर्भे) ले भूकम्पको मापन ७.१ म्याग्निच्युड रहेको जनाएको छ। नेपाल राष्ट्रिय भूकम्प मापन केन्द्रले पनि यसलाई ७.० म्याग्निच्युडको रूपमा दर्ता गरेको छ।
भूकम्पको धक्का नेपालका उत्तरपूर्वी भेग, भुटानको थिम्पु, भारतको बिहार तथा बङ्गलादेशसम्म महसुस गरिएको छ। उद्धार तथा राहत कार्य तीव्र रूपमा सञ्चालन भइरहेको र घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको अधिकारीहरूले बताएका छन्।
यो भूकम्पले ठूलो भौतिक क्षति पुर्याएको आशंका गरिएको छ। घटनास्थलमा उद्धार टोली परिचालन गरिएको छ भने स्थिति अझै स्पष्ट हुन केही समय लाग्ने स्थानीय प्रशासनले जनाएको छ।


