भक्तपुर । भक्तपुर अस्पतालमा आजदेखि आँखाको शल्यक्रिया सेवा औपचारिक रुपमा सञ्चालनमा आएको छ। बागमती प्रदेशका १३ अस्पतालहरूमध्ये पहिलो पटक यहाँ आँखाको शल्यक्रिया सेवा प्रदान गर्न थालिएको हो। बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले भक्तपुर अस्पतालमा यो सेवा सुरु भएको जानकारी दिए।
मन्त्री थापाले यस सेवाको विस्तारलाई प्रदेशभरका अन्य अस्पतालसम्म पुर्याउने योजनामा रहेको पनि बताए। उनका अनुसार, स्वास्थ्य मन्त्रालयले सबै अस्पतालमा यस प्रकारका अत्यावश्यक सेवाहरू उपलब्ध गराउन बजेट तथा संरचनाको प्रबन्ध मिलाइरहेको छ। भक्तपुर अस्पतालमा सुरु भएको यो सेवा निरन्तर रहने र अन्य अस्पतालहरूमा पनि क्रमशः विस्तार गरिने मन्त्रालयको तयारी छ।
अस्पतालकी मेडिकल डाइरेक्टर डा. सुमित्रा गौतमले पहिले बिरामीलाई आँखाको उपचारका लागि तिलगंगा आँखा अस्पताल पठाउनु पर्ने बाध्यता रहेकोमा अब सो समस्या हटेको बताइन्। आज पहिलो पटक सफलतापूर्वक आँखाको शल्यक्रिया सम्पन्न भएको जानकारी दिँदै उनले नेत्र विशेषज्ञ डा अनुपमा अमात्यको नेतृत्वमा तीन जनाको विशेषज्ञ टोली परिचालन गरिएको बताइन्। यो सेवाको सुरुआतले भक्तपुरका बिरामीहरूलाई आँखाको उपचारमा ठूलो सहजता ल्याउने अपेक्षा गरिएको छ।


