निरंजन शाह
फाल्गुन १०, बिरगंज
बिरगंजमा लायन्स क्लब अफ बिरगंज क्युरेटिभको आयोजनामा पाठेघर ग्रिवा क्यान्सर (सर्भाईकल क्यान्सर) सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न भएको छ। हरीखेतान बहुमुखी क्याम्पसको प्रांगणमा आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई क्यान्सरसम्बन्धी महत्त्वपूर्ण जानकारी प्रदान गरियो।
कार्यक्रमका प्रमुख अतिथि तथा वरिष्ठ लायन्स सेवाकर्मी डा. आर.पी. खेतानले समुदायमा यस्ता सचेतनामूलक कार्यक्रमको आवश्यकता औंल्याए। साथै, प्रसूति तथा महिला रोग विशेषज्ञ डा. कीर्ति अग्रवालले २ सयभन्दा बढी छात्राहरूलाई पाठेघर ग्रिवा क्यान्सरको कारण, लक्षण र रोकथामबारे विस्तृत जानकारी दिइन्।
लायन्स क्लबका प्रतिनिधि डा. अविषेक अर्यालका अनुसार क्याम्पसमा आगामी हप्तामा पुनः यस्तै कार्यक्रम सञ्चालन गरिनेछ। कार्यक्रममा क्याम्पस प्रमुख, प्राध्यापक, समाजसेवी, सञ्चारकर्मी तथा छात्राहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


