८ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबीच भावी राजनीतिक सहकार्यबारे गम्भीर छलफल भएको छ । दुबै नेताबीच आगामी दिनमा राजनीतिक यात्रालाई सँगसँगै अघि बढाउने समझदारी अन्तिम चरणमा पुगेको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार यसपटकको प्रतिनिधिसभा निर्वाचनमा बालेन साहलाई प्रधानमन्त्रीको आकांक्षीका रूपमा अघि सार्न रवि सकारात्मक देखिएका छन् । बदलामा आगामी अर्को चुनावमा बालेनले रविलाई पूर्ण सहयोग गर्ने सहमति बनेको बताइन्छ ।
सात घण्टा लामो गोप्य संवाद
गएराति रास्वपाका केन्द्रीय सदस्य असिम साहको संगीत कम्पनी रहेको कमलपोखरीस्थित भवनमा रवि र बालेनबीच करिब सात घण्टा लामो वार्ता भएको थियो । बैठकपछि दुबै नेता एउटै गाडीमा बाहिरिएको दृश्यले राजनीतिक वृत्तमा थप चासो बढाएको छ ।
स्रोतका अनुसार सुरुमा बालेन, रवि, असिम साह र कुमार बेनबीच छोटो संयुक्त छलफल भएको थियो । त्यसपछि असिम र कुमारलाई बाहिर राखेर रवि–बालेनबीच करिब चारदेखि पाँच घण्टा ‘वान टु वान’ संवाद चलेको थियो ।
छलफलका विषयवस्तु औपचारिक रूपमा सार्वजनिक नगरिए पनि उनीहरू निकट स्रोतले साझा राजनीतिक यात्राबारे स्पष्ट सहमति बनेको दाबी गरेको छ । यस विषयमा थप स्पष्टता दिन आजै वा भोलि अर्को चरणको वार्ता हुन सक्ने संकेत पनि दिइएको छ ।
३३३ प्रधानमन्त्री आकांक्षामा बालेन, सहायक भूमिकामा रवि
भित्री छलफलमा एउटै पार्टी वा साझा प्लेटफर्म बनाएर अघि बढ्ने, शक्ति सन्तुलन र नेतृत्वको भूमिकाबारे पनि संवाद भएको बताइन्छ । यही सन्दर्भमा हाल बालेनलाई प्रधानमन्त्रीका रूपमा स्थापित गर्न रविले नेतृत्वदायी सहयोग गर्ने र त्यसपछि अर्को चुनावमा रविलाई बालेनले साथ दिने समझदारी बनेको स्रोतको भनाइ छ ।
‘आगामी निर्वाचनमा बालेन उम्मेदवार बन्ने र सरकार बनेमा पाँच वर्षसम्म रविले प्रधानमन्त्रीका रूपमा बालेनलाई समर्थन गर्ने सहमति छ,’ स्रोतले भन्यो, ‘त्यसपछि अर्को चुनावमा भूमिकाहरू उल्टिनेछन् ।’
स्रोतका अनुसार बालेन रास्वपाको ‘घण्टी’ चुनाव चिह्न स्वीकार गर्न तयार देखिएका छन्, तर पार्टीको नाम र संरचनाबारे अझै छलफल जारी छ ।
३३३ रविको लचकता र एकताको सन्देश
बालेनसँगको एकता र शक्ति बाँडफाँटमा रवि लचिलो देखिएका छन् । यसअघि चितवनको एक सार्वजनिक कार्यक्रममा रविले ‘देश बन्ने हो भने आफूले सबै त्याग गर्न तयार’ रहेको अभिव्यक्ति दिएका थिए, जसलाई अहिलेको घटनाक्रमसँग जोडेर हेरिएको छ ।
कमलपोखरी भेट कसरी तय भयो रु
चितवनबाट काठमाडौं फर्किएपछि रवि विभिन्न भेटघाटमा सक्रिय थिए । जेनजी आन्दोलनका घाइतेलाई भेटेपछि उनले प्रधानमन्त्री सुशीला कार्कीसँग पनि भेटवार्ता गरेका थिए । त्यसैबीच पुस ६ गते असिम साहको निवासमा रवि र बालेनबीच छोटो भेट भएको थियो, जहाँ अर्को चरणको विस्तृत छलफल गर्ने सहमति बनेको थियो ।
पहिलो प्रस्ताव कुमार बेनको घरमा बस्ने भए पनि सुरक्षा र सहजताका कारण कमलपोखरीस्थित असिम साहको कार्यालयलाई अन्तिम स्थल बनाइएको स्रोतले जनाएको छ । प्रारम्भमा डा। स्वर्णिम वाग्ले पनि सहभागी हुने भनिए तापनि अन्तिम समयमा रविले उनलाई नलगेको बताइन्छ ।
देशले खोजेको मिलन
भेटवार्ताको संयोजनकर्ता असिम साहले छलफल सकारात्मक र एकताको सन्देश दिने खालको भएको बताए ।
‘बालेन र रवि सँगै अघि बढ्नुपर्छ भन्ने चाहना जनस्तरबाट आएको छ,’ उनले भने, ‘यसको राम्रो सुरुवात भएको छ ।’
उनले सामाजिक सञ्जालमार्फत पनि यो सहकार्यलाई ‘व्यक्तिगत नभई देशको आशासँग जोडिएको मिलन’ भनेर टिप्पणी गरेका छन् ।
कुलमान र वैकल्पिक शक्तिबारे संवाद
छलफलका क्रममा युवापुस्ताको भावना समेट्ने गरी वैकल्पिक राजनीतिक शक्तिहरूलाई एक ठाउँमा ल्याउने विषयमा पनि सहमति बनेको स्रोत बताउँछ । यसक्रममा कुलमान घिसिङ नेतृत्वको ‘उज्यालो नेपाल पार्टी’ को सम्भावनाबारे कुराकानी भए पनि रवि यसमा खासै सहज नदेखिएको बताइन्छ ।
एक नेताका अनुसार, ‘हाल करिब १० वटा समूह र व्यक्तिसँग संवाद भइरहेको छ । अब आक्रामक ढंगले अघि बढ्ने तयारी छ । एक–दुई दिनमै नयाँ राजनीतिक संकेत देखिन सक्छ ।’


