तेह्रथुम, मङ्सिर २६ – प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीले गुणस्तरीय शिक्षा प्राप्त गर्नुपर्नेमाथि विशेष जोड दिनुभएको छ। तेह्रथुमको आठराईस्थित प्रणाली माध्यमिक विद्यालयको नयाँ भवन उद्घाटन गर्दै प्रधानमन्त्रीले शिक्षा नै समृद्धि र विकासको आधार भएको बताउनुभयो।
उहाँले विद्यालयको एसइई (कक्षा १०) नतिजा कमजोर भएकोप्रति खिन्नता व्यक्त गर्दै विद्यार्थीको मेहनत र अभिभावकको लगानी खेर जान नदिन शिक्षक र विद्यार्थी दुवै जिम्मेवार हुनुपर्ने धारणा राख्नुभयो। “विद्यार्थी असफल हुनु भनेको उनीहरूको भविष्यमा ठूलो असर पर्छ। यसले उनीहरूमा निराशा ल्याउन सक्छ, जुन अपराध सरहको विषय हो,” प्रधानमन्त्रीले भन्नुभयो।
उहाँले शिक्षकमा ज्ञान हस्तान्तरण गर्ने क्षमता विकास र विद्यार्थीमा नियमित मेहनतको आवश्यकता रहेको औंल्याउनुभयो। “मेहनती विद्यार्थीले मात्र देशको समृद्धिमा योगदान गर्न सक्छन्,” उहाँले थप्नुभयो।
प्रधानमन्त्रीले आफ्नो बाल्यकालमा यही विद्यालयमा पढेका दिनको स्मरण गर्दै विद्यालयको सुधारमा दक्षिण कोरियाली संस्था युङ होङ गिल फाउण्डेसनको योगदानप्रति आभार व्यक्त गर्नुभयो। विद्यालयको भौतिक पूर्वाधार सुधारले शैक्षिक गुणस्तरमा सुधार ल्याउने विश्वास उहाँले व्यक्त गर्नुभयो।
कार्यक्रममा प्रधानमन्त्रीले शिक्षाको महत्वलाई गहिरो रूपमा बुझेर विद्यार्थी र शिक्षक दुवैले आफ्नो दायित्व पूरा गर्नुपर्नेमा जोड दिनुभएको छ।


