रौतहट । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई लोकतान्त्रिक प्रक्रियामा आउन सुझाव दिएका छन्। उनले अब राजतन्त्र पुनःस्थापनाको सम्भावना नरहेको स्पष्ट पारे।
शनिबार बिहान रौतहटको गरुडामा उद्योगी तथा व्यापारीहरूसँगको भेटघाटका क्रममा सञ्चारकर्मीको प्रश्नमा प्रचण्डले भने, “इतिहास पछाडि फर्कँदैन। सत्ता हासिल गर्न उहाँले पनि पार्टी खोलेर चुनाव जित्नुपर्छ। संविधानले त्यो अधिकार दिएको छ।”
श्रीराम सुगर मिल पुनःसञ्चालनको प्रतिबद्धता
उद्योग व्यवसायसँग जोडिएको अर्को प्रसंगमा अध्यक्ष प्रचण्डले गरुडामा रहेको श्रीराम सुगर मिल सञ्चालनका लागि पहल गर्ने आश्वासन दिए। “यो मिल पुनः सञ्चालनमा आए रोजगारी र आर्थिक विकासमा टेवा पुग्छ, त्यसका लागि म सक्दो प्रयास गर्नेछु,” उनले भने।
तराई–मधेस जागरण अभियानमा माओवादी टोली
माओवादी केन्द्रले सञ्चालन गरेको “जनतासँग माओवादी तराई–मधेस जागरण अभियान” अन्तर्गत प्रचण्डसहितको टोली शुक्रबार साँझ रौतहट आइपुगेको थियो। आज दिउँसो परोहा नगरपालिकाको लौकाहामा आयोजना हुने आमसभालाई प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको पोलिटब्युरो सदस्य तथा रौतहट–४ (क) का प्रदेशसभा सदस्य युवराज भट्टराई ‘समिर’ ले जानकारी दिए।


