१० कात्तिक, काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगी प्रकरणमा सरकारले लिएको कदमप्रति आफ्नो असन्तुष्टि व्यक्त गरेका छन्। प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मात्र पक्राउ गरिएको तर प्रतिवेदनमा नाम आएका कांग्रेस र एमाले नेताहरुलाई भने कुनै कारबाही नगरेकोप्रति गम्भीर आपत्ति जनाएका छन्।
शनिबार काठमाडौंमा आयोजित खबरदारी सभामा प्रचण्डले राजनीतिक पूर्वाग्रहका आधारमा सरकारको कदम अव्यवहारिक रहेको बताए। “प्रतिवेदनमा नाम आएका एमाले र नेपाली कांग्रेसका नेताहरुलाई छानबिन नगरी प्रतिपक्षका नेतालाई मात्र निशाना बनाइएको छ, जसले न्यायको मापदण्डलाई उल्लंघन गरेको छ,” उनले भने।
प्रचण्डले माओवादीले रवि लामिछानेलाई जोगाउन खबरदारी सभा आयोजना गरेको भनी केहीको गलत धारणाको खण्डन पनि गरे। “यो खबरदारी सभा कुनै व्यक्तिलाई जोगाउन होइन, अन्यायपूर्ण सरकारी रवैयाविरुद्ध हो,” प्रचण्डले स्पष्ट पारे।
उनले प्रधानमन्त्री हुँदा सहकारी पीडितलाई न्याय दिलाउन सिंहदरबारमा अनगिन्ती बैठक गरेको पनि उल्लेख गरे। उनले दोषीलाई कारबाही र निर्दोषलाई उन्मुक्ति सुनिश्चित गर्न आफू सँधै प्रतिबद्ध रहेको बताए।
सहकारी छानबिन समिति गठनबारे कुरा गर्दै प्रचण्डले संसदमा प्रश्न उठेपछि समिति गठन गर्न आफू तयार भए पनि प्रधानमन्त्री केपी ओलीले असहमति जनाएको खुलासा गरे। “रवि लामिछानेसँग मिलेर छानबिन समिति बनाउन सुझाव दिएँ। दोषी छ भने कारबाही र निर्दोष छ भने उन्मुक्ति दिनुपर्छ भन्ने मेरो धारणा थियो,” उनले भने।
प्रचण्डको यस भनाइले सरकारको न्यायिक प्रक्रियाप्रति गम्भीर प्रश्न खडा गरेको छ।


