वीरगञ्ज, श्रावण २ – माध्यमिक शिक्षा परीक्षा (एसईई) पास गरेका विद्यार्थीहरूका लागि निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) वीरगञ्ज र पर्सा शाखाले “प्याब्सन छात्रवृत्ति कार्यक्रम” सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत २८ जना विद्यार्थीलाई कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्तिका साथै विभिन्न पुरस्कार प्रदान गरिनेछ।
एपेक्स म्यानेजमेन्ट कलेजमा आयोजित पत्रकार सम्मेलनमा प्याब्सन वीरगञ्जका अध्यक्ष राहुल श्रीवास्तवले आर्थिक रूपमा कमजोर पृष्ठभूमिका मेधावी विद्यार्थीलाई उच्च माध्यमिक तहको शिक्षा सहज बनाउने उद्देश्यले कार्यक्रम ल्याइएको जानकारी दिए। छात्रवृत्ति पूर्ण रूपमा पारदर्शी विधिबाट वितरण गरिने उनको भनाइ छ।
विद्यार्थीहरूले यो छात्रवृत्ति पाउनका लागि प्याब्सन वीरगञ्जद्वारा सञ्चालन गरिने प्रवेश परीक्षामा सहभागी हुनुपर्नेछ। सो परीक्षा यस वर्षको एसईई दिएका सबै विद्यार्थीका लागि खुला रहेको अध्यक्ष श्रीवास्तवले बताए। सरकारी, निजी वा कुनै पनि संस्थासँग आबद्ध विद्यालयका विद्यार्थीले आवेदन दिन सक्नेछन्। नन-ग्रेड (NG) ल्याएका विद्यार्थीहरूले पनि सहभागी हुन पाउनेछन्।
प्याब्सनका सचिव अमित आलोकले यो कार्यक्रम विद्यार्थीलाई प्रतिभा देखाउने मंच मात्र नभई उच्च शिक्षा प्राप्तिको अवसरसमेत भएको उल्लेख गरे। उनका अनुसार, परीक्षा मार्फत छानिएका २८ विद्यार्थीले प्याब्सन अन्तर्गत सञ्चालित १० वटा प्लस टु विद्यालयहरूबाट पूर्ण छात्रवृत्तिमा अध्ययन गर्न पाउने छन्। हरेक विद्यालयले कम्तीमा दुई जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नेछ।
छात्रवृत्ति प्रवेश परीक्षाको फारम भर्ने म्याद श्रावण ६ गतेसम्म राखिएको छ। परीक्षाको प्रवेश पत्र श्रावण ८ गते उपलब्ध हुने र श्रावण १० गते परीक्षा सञ्चालन गरिने बताइएको छ। आवेदन प्याब्सन वीरगञ्जको आधिकारिक फेसबुक पेजबाट अनलाइनमार्फत दिन सकिनेछ।
छात्रवृत्तिमा उत्कृष्ट हुने विद्यार्थीहरूलाई अतिरिक्त पुरस्कार पनि प्रदान गरिनेछ – पहिलो स्थान प्राप्त विद्यार्थीलाई ल्यापटपसहित दुई वर्षको पूर्ण छात्रवृत्ति, दोस्रो हुनेलाई ट्याबलेटसहित पूर्ण छात्रवृत्ति, र तेस्रो हुनेलाई पोशाकसहित छात्रवृत्ति दिइनेछ।
छात्रवृत्तिमा नाम पर्ने २८ जनाले आफ्नो रोजाइको विद्यालय चयन गर्न सक्नेछन्, तर प्रत्येक विद्यालयमा तोकिएको दुई कोटा भरिएपछि सोही विद्यालयमा अन्य विद्यार्थी छनोट हुने छैनन्।
प्याब्सनद्वारा प्रदान गरिने २८ छात्रवृत्तिहरू यसप्रकार छन्:
- म्यास्कट एकेडेमी – २ जना
- ज्ञानदा एकेडेमी – २ जना
- मिनिल्याण्ड सेकेन्डरी स्कुल – ५ जना
- वीरगञ्ज इङ्लिस पब्लिक स्कुल – २ जना
- ओम नेशनल एकेडेमी – २ जना
- वीरगञ्ज पब्लिक कलेज – २ जना
- सनलाइट सेकेन्डरी स्कुल – २ जना
- हिमालयन पिरामिड्स – ५ जना
- वीरगञ्ज कलेज प्रा.लि. – ४ जना
- सिद्धार्थ नेशनल स्कुल – २ जना
छात्रवृत्तिमा नपरे पनि प्रवेश परीक्षामा राम्रो प्रदर्शन गर्ने विद्यार्थीलाई साइन्स स्ट्रीममा १५ हजार र म्यानेजमेन्ट स्ट्रीममा ५ हजार रुपैयाँसम्मको छुट प्रदान गरिनेछ। छोरीहरूका लागि थप २ हजार रुपैयाँ छुटको व्यवस्था पनि गरिएको छ।
अध्यक्ष श्रीवास्तवले कार्यक्रमले ग्रामीण र आर्थिक रूपमा पछाडि परेका परिवारका विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्राप्तिको ढोका खोल्ने विश्वास व्यक्त गरे। उनले छात्रवृत्ति उपलब्ध गराउने विद्यालयहरूले शिक्षाको स्तर उकास्नेतर्फ निरन्तर लागिरहेकोसमेत बताए।
– एएनएन न्यूज, वीरगञ्ज


