निरञ्जन शाह ,
बीरगंज २०८१-११-२१

पर्सा जिल्लाको पोखरिया नगरपालिकामा लामो समयदेखिको माग सम्बोधन गर्दै नापी र मालपोत कार्यालय सञ्चालनमा आएको छ। बिहीबार आयोजित एक विशेष समारोहमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले कार्यालयको उद्घाटन गरेका हुन्।


स्थानीयलाई सेवामा सहजता
कार्यालय उद्घाटन गर्दै मन्त्री अधिकारीले अब ग्रामिण क्षेत्रका नागरिकलाई सेवामा सहजता हुने विश्वास व्यक्त गरे। अब पोखरियामै आवश्यक नापी तथा मालपोतसम्बन्धी सेवा उपलब्ध हुने हुँदा समय र खर्चको बचत हुने बताए।
प्रतिबद्धताको कार्यान्वयन
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले चुनावी प्रतिबद्धताअनुसार कार्यालयको स्थापना गरिएको बताए। उनले इलाका प्रशासन कार्यालय स्थापनाका लागि पहल भइरहेको र पोखरियाका लागि थप योजनाहरू ल्याइने जानकारी दिए।
छ वटा गाउँपालिकाका सेवाग्राहीलाई राहत
वीरगञ्जबाट करिब १३ किलोमिटर टाढा रहेको पोखरिया नगरपालिकामा सञ्चालनमा आएको यस कार्यालयबाट छ वटा गाउँपालिकाका सेवाग्राही लाभान्वित हुनेछन्। मन्त्री गुप्ताका अनुसार अब स्थानीय नागरिकलाई नापी तथा मालपोतसम्बन्धी कामका लागि वीरगञ्ज जानुपर्ने बाध्यता अन्त्य भएको छ।
अतिरिक्त बजेट सुनिश्चित गरिने प्रतिबद्धता
यसअघि नै भारत सरकारको सहयोगमा ३५ करोडको योजना ल्याएको उल्लेख गर्दै मन्त्री गुप्ताले अब केही दिनमै चीन भ्रमण गर्ने र त्यहाँबाट पोखरियाका लागि थप ४०-५० करोडको योजना ल्याउने बताए।
उद्घाटन कार्यक्रममा विशिष्ट व्यक्तिहरूको उपस्थिति
समारोहमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसिया, मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्री, युवा, खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवाल, प्रदेशसभा सदस्य श्याम पटेल, बिना शर्मा, पूर्व सांसद बिचारी यादव, नेपाल पत्रकार महासंघ मधेश प्रदेश अध्यक्ष श्याम बन्जारा, पूर्व मन्त्री सुरेन्द्र प्रसाद चौधरी, हरिनारायण रौनियार, पोखरिया नगरपालिकाका प्रमुख प्रधुमन चौहान लगायतको उपस्थिति रहेको थियो।


