कावासोती । पूर्णरूपमा अवरुद्ध रहेको पूर्व–पश्चिम राजमार्गको बुटवल–नारायणगढ खण्ड अब एकतर्फी सञ्चालनमा आएको छ।

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ दाउन्ने क्षेत्रमा पर्ने खुर्सानीखोलामा बाक्लो हुस्सु र शीतलहरका कारण सडक चिप्लो बनेपछि यातायात ठप्प भएको थियो। निरन्तरको प्रयासपछि, यो खण्डलाई एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी रेशम बोहराले जानकारी दिनुभयो।
बोहराका अनुसार, आज बिहानदेखि पूर्णरूपमा बन्द रहेको सडक दिउँसो २ बजेदेखि सवारी पासका आधारमा एकतर्फी सञ्चालनमा ल्याइएको छ। बुटवल–नारायणगढ खण्डको दाउन्ने क्षेत्रमा भइरहेको सडक निर्माणले यातायात व्यवस्थापनमा थप चुनौती उत्पन्न गरेको अधिकारीले बताए।

पछिल्लो केही दिनदेखि पश्चिम नवलपरासीमा बाक्लो हुस्सु र शीतलहरले गर्दा यात्रा कठिन बनेको थियो। यसै कारण आज बिहान यातायात पूर्णरूपमा रोकिएको थियो।
दुईतर्फी सञ्चालनका लागि जिल्ला प्रशासन, सुरक्षा निकाय, प्रहरी र स्थानीय निकायले निरन्तर सडक मर्मत तथा सफाइ कार्य गरिरहेका छन्।


