काठमाडौं । शिक्षकहरूमाथि भएको प्रहरीको बल प्रयोगप्रति आक्रोश व्यक्त गर्दै पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षकहरूलाई पार्टीको सदस्यता परित्याग गर्न आग्रह गरेकी छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै श्रेष्ठले अब सत्य र न्यायको पक्षमा उभिनुपर्ने समय आएको बताइन्। उनले भनेकी छन्, “शिक्षकहरूले अब सोच्नुपर्छ — विधिसम्मत र स्वतन्त्र रहने कि राजनीतिक दलहरूको छायाँमा अडिने?”
श्रेष्ठले राजनीतिक नेताहरूको चरित्रप्रति पनि गम्भीर प्रश्न उठाएकी छन्। उनले स्मरण गराइन् कि जुन नेताहरूलाई शिक्षकरूपी जनशक्तिले सत्तासम्म उकासेका थिए, आज त्यही नेताहरूले उनीहरूलाई दमन गरिरहेका छन्। “नेताहरूको नैतिकता र व्यवहार आज प्रस्ट देखिएको छ,” उनको टिप्पणी छ।
आजको घटनाले शिक्षकहरूप्रति राजनीतिक नेतृत्वले राख्ने दृष्टिकोणलाई स्पष्ट गरेको उल्लेख गर्दै श्रेष्ठले विगतमा व्यवस्था परिवर्तनमा योगदान दिएका शिक्षकहरू अहिले संस्कार परिवर्तनको अभियानमा पनि सक्रिय बन्नुपर्ने आवश्यकता औंल्याइन्।
“देशको संरचना त फेरियो, तर सोच र संस्कार फेर्न सकेनौं,” श्रेष्ठले लेखेकी छन्, “अब नयाँ संस्कार निर्माणका लागि शिक्षकहरू नै अगाडि बढ्नुपर्छ।”


