काठमाडौँ — सरकारले आगामी वैशाख ३१ गते विशेष खोप अभियान सञ्चालन गर्ने भएको छ। यो अभियान अन्तर्गत विगतमा नियमित खोप सेवा छुटेका पाँच वर्षमुनिका बालबालिकालाई खोप दिने तयारी गरिएको छ।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार, अभियानको दिन नौ प्रकारका नियमित खोप छुटेका बालबालिकालाई दिइनेछ। “हामीले छुट बालबालिकालाई लक्षित गरेर वैशाख ३१ गते विशेष खोप कार्यक्रम तय गरेका छौँ,” डा. गौतमले जानकारी दिनुभयो, “यसअघि कुनै कारणवश खोप नलगाउन पुगेका बालबालिका यस दिन खोपबाट लाभान्वित हुनेछन्।”
नेपालमा हालसम्म पाँच वर्षमुनिका करिब ९५ प्रतिशत बालबालिकाले पूर्ण खोप सेवा प्राप्त गरिसकेका छन्। बाँकी पाँच प्रतिशत छुटेका बालबालिकालाई खोजी गरी खोप प्रदान गर्ने काम भइरहेको शाखा प्रमुख गौतमले बताउनुभयो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अभिभावकहरूलाई आफ्ना बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा लगेर खोप लगाउन अनुरोध गरेको छ। मन्त्रालयले सबै बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि खोप अनिवार्य रहेको भन्दै अभियानमा सहकार्य गर्न आग्रहसमेत गरेको छ।
यस्तो खोप अभियानले बाल स्वास्थ्य सुदृढ बनाउने विश्वास लिइएको छ।


