
निरंजन शाह
काठमाडौं, वैशाख ५ – पश्चिम नेपालका विभिन्न जिल्लाहरूमा हालसालै चट्याङ्ग र मेघगर्जनसहितको वर्षा भइरहेका कारण जनजीवन प्रभावित भएको छ। खराब मौसमका कारण हवाई उडानमा अवरोध पुगेको छ भने मौसम पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
रुकुमपश्चिमको मुसिकोट, सल्यान बजार, दाङको घोराही, बाँकेको नेपालगञ्ज, सुर्खेतको वीरेन्द्रनगर, दैलेखको कट्टी, बर्दियाको गुलरिया, रोल्पाको लिवाङलगायत क्षेत्रमा लगातार वर्षा भइरहेको छ। पानीसँगै बाक्लो कुहिरो लागेकाले दृश्यता कम भई हवाई सेवा सञ्चालनमा समस्या देखिएको हो।
पछिल्लो तीन घण्टामा दैलेखको कट्टीमा सबैभन्दा बढी २०.६ मिलिमिटर पानी परेको छ भने पछिल्लो एक घण्टामा दाङ र सल्यान क्षेत्रमा ७.४ मिलिमिटर वर्षा मापन गरिएको छ।
खराब मौसमकै कारण आज बिहान काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाज नेपालगञ्ज डाइभर्ट भएको छ। जहाजले लामो समय आकाशमा फन्को लगाएर अन्ततः नेपालगञ्ज विमानस्थलमा अवतरण गरेको नेपालगञ्ज विमानस्थलका सूचना अधिकारी धिरेन्द्र रिजालले जानकारी दिएका छन्। यस्तै, श्री एयरलायन्सको अर्को जहाजले पनि यस्तै अवस्था झेलेको थियो।
रिजालका अनुसार मौसमका कारण केही उडानहरू ढिलो भएका छन् भने कतिपय फ्लाइट डाइभर्ट गरिएको छ। एक जहाज नेपालगञ्ज विमानस्थलमा करिब आधा घण्टा रोकिएपछि सुर्खेत गन्तव्यतर्फ प्रस्थान गरेको छ।
मौसम विभागले आगामी घण्टाहरूमा लुम्बिनी र गण्डकी प्रदेशतर्फ प्रणाली सर्न सक्ने सम्भावना जनाएको छ। दिउँसोको समयमा कोशी प्रदेशसहित देशका पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षा र मेघगर्जनसहितको चट्याङ्गको सम्भावना रहेको विभागले बताएको छ।
विभागले यस्ता मौसमीय गतिविधिले कृषि, यातायात, स्वास्थ्य र जनजीवनमा असर पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ।


