वीरगन्ज, २ पुस
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस प्रक्रियालाई लिएर पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसभित्र आन्तरिक विवाद चर्किएको छ।
गत मंसिर २२ गते सम्पन्न कांग्रेसको क्षेत्रीय भेलामा उम्मेदवार सिफारिसकै विषयमा दुई नेताका समर्थकबीच चर्को बहससँगै धकेलाधकेलको अवस्था सिर्जना भएको थियो। सो भेलापछि सार्वजनिक सूचनाअनुसार प्रत्यक्षतर्फ पूर्वमन्त्री अजय चौरसिया, संविधानसभा सदस्य राजेन्द्र बहादुर अमात्य, युवा नेता राकेश यादव र मदन यादवको नाम सिफारिस गरिएको बताइएको थियो।
मंसिर २३ गते विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार तथा त्यसदिन क्षेत्रीय सभापति महमद साहबुद्धिनले पनि प्रत्यक्षतर्फ चौरसिया, अमात्य र यादवको नाम सिफारिस भएको पुष्टि गरेका थिए। तर पछिल्लो समय क्षेत्रीय कार्य समितिले जिल्ला कार्यसमितिमा पठाएको सिफारिसपत्रमा युवा नेता राकेश यादवको नाम हटाइएको आरोप बाहिर आएको छ।
युवा नेता यादवले क्षेत्रीय कार्य समितिले आफ्नो नाम जानाजानी हटाएर अन्य दुई जनाको मात्र नाम सिफारिस गरेको दाबी गरेका छन्। सो जानकारी पाएपछि उनले गत सोमबार कांग्रेस पर्साका जिल्ला सभापति जनार्दन सिंह क्षेत्रीसमक्ष पुनः उम्मेदवार सिफारिसका लागि लिखित आवेदन दिएको बताए।
यादवका अनुसार यसअघि क्षेत्रीय सभापति साहबुद्धिनसँग भेटेर नाम हटाइएको कारणबारे लिखित जवाफ माग्दा उनको निवेदनसमेत नलिइएको थियो। उनले क्षेत्रीय सभापतिले आफू दबाबमा परेको भन्दै मौखिक जवाफ दिएको र पूर्वमन्त्री अजय चौरसियाको दबाबका कारण नाम काट्न बाध्य भएको आशय व्यक्त गरेको दाबी गरेका छन्।
यादवले मंसिर २३ गते पार्टी विधानअनुसार प्रत्यक्ष उम्मेदवार सिफारिसका लागि ११ हजार रुपैयाँ दस्तुरसहित निवेदन बुझाएको र सो दस्तुर क्षेत्रीय सभापतिले स्वीकार गरेको पनि बताए। तर पछि आफ्नो नाम हटाएर सिफारिस गरिएको भन्दै उनले आपत्ति जनाएका छन्।
यस विषयमा प्रतिक्रिया लिन क्षेत्रीय सभापति साहबुद्धिनसँग पटक–पटक सम्पर्कको प्रयास गरिए पनि उनको मोबाइल फोन उठेन।
उता कांग्रेस पर्साका जिल्ला सभापति जनार्दन सिंह क्षेत्रीले भने क्षेत्र नम्बर २ बाट आएको सिफारिसपत्रमा राकेश यादवको नाम नरहेको पुष्टि गरे। उनका अनुसार क्षेत्रीय कार्य समितिबाट अजय चौरसिया, राजेन्द्र बहादुर अमात्य र मदन यादव गरी तीन जनाको नाम मात्र जिल्ला कार्यसमितिमा सिफारिस भएर आएको छ।
जिल्ला सभापति क्षेत्रीले गत सोमबार यादवले पार्टी कार्यालयमा आएर प्रत्यक्षतर्फ उम्मेदवार सिफारिसका लागि निवेदन दिएको जानकारी दिए। पार्टी विधानअनुसार क्षेत्रीय तहबाट छुटेका वा विवादित नामबारे जिल्ला कार्यसमितिले आवश्यक छलफल गरी सुझावसहित प्रदेश कार्यसमितिमा पठाउने व्यवस्था रहेको उनले बताए। पर्साका चारै क्षेत्रबाट आएका सिफारिसहरू सम्भवतः बुधबार नै मधेस प्रदेश कार्यसमितिमा पठाइने उनको भनाइ छ।


