वीरगञ्ज, २० मंसिर – पर्सा जिल्ला प्रहरीले २ करोड ९ लाखभन्दा बढीको हार्डवेयर र औषधि सामानसहितका दुई ट्रक नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाएको छ।

विशेष सूचनाका आधारमा गएराति वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ स्थित प्रतिमा चौकबाट ना.४ ख ९८५१ र प्रदेश.२–०३–००१ ख ६५५७ नम्बरका मालवाहक ट्रक नियन्त्रणमा लिइएको हो। यी ट्रकहरूमा बिल विजकमा उल्लेखभन्दा बढी सामान लोड गरिएको पाइएको प्रहरी स्रोतले जनाएको छ।
वीरगञ्जबाट हार्डवेयर र औषधि सामान लिएर काठमाडौं र विराटनगरतर्फ लैजाँदै गर्दा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले ती ट्रकहरूलाई शंका गरी रोकेको थियो। अनुसन्धानपछि ट्रकमा रहेका सामानहरू बिल विजकभन्दा बढी रहेको पुष्टिसहित नियन्त्रणमा लिइएको थियो।
पर्सा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) किशोर लम्सालका अनुसार नियन्त्रणमा लिइएका सामानको मूल्यांकन २ करोड ९ लाख ८ हजार ८४२ रुपैयाँ गरिएको छ। उक्त सामान थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको लम्सालले जानकारी दिए।
प्रहरीको यो कदमले राजस्व चुहावट रोक्न महत्वपूर्ण योगदान पुर्याएको अधिकारीहरूको भनाइ छ। अवैध सामान ओसारपसार गर्नेहरुलाई कानुनी कारबाहीको दायरामा ल्याउने उद्देश्यसहित प्रहरीले आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिने बताएको छ।


