पर्सा क्षेत्र नं. १ मा आगामी निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले आफ्नो चुनावी अभियानलाई तीव्र बनाएको छ। कांग्रेसका उम्मेदवार अनिल रुङटालाई विजयी गराउने उद्देश्यसहित पार्टीका शीर्ष नेता, स्थानीय प्रतिनिधि तथा कार्यकर्ताहरू घरदैलो, भेटघाट तथा संगठन विस्तारमा सक्रिय रूपमा जुटेका छन्। क्षेत्रभर कांग्रेसको पक्षमा माहोल बन्दै गएको देखिन्छ।
अभियानका क्रममा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, पूर्व सभापति अजय द्विवेदी, सचिव इम्तियाज आलम, पूर्व नगर सभापति विजय सर्राफ, अरबिन्द गुप्ता, भोला कलवारलगायत क्षेत्रीय, नगर तथा जिल्ला तहका नेता–कार्यकर्ता तथा ठूलो संख्यामा समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मीले लोकतन्त्र, संविधानको रक्षा र पर्सा क्षेत्र नं. १ को दिगो विकासका लागि नेपाली कांग्रेसको जित अनिवार्य रहेको बताए। उनले अनिल रुङटा जनतासँग नजिक रहेका, विकासप्रेमी र अनुभवी नेता भएकाले उनलाई अत्यधिक मतले विजयी गराउन कांग्रेसका सबै नेता–कार्यकर्ता एकताबद्ध भएर मैदानमा उत्रिएको स्पष्ट पारे। कुर्मीले कांग्रेसको नेतृत्वमा मात्र क्षेत्रको शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासले गति लिने विश्वास व्यक्त गरे।
त्यसैगरी नेपाली कांग्रेस पर्साका पूर्व सभापति अजय द्विवेदीले अनिल रुङटा पर्सा क्षेत्र नं. १ का जनताको चाहना र आवश्यकता बुझ्ने सक्षम उम्मेदवार भएको बताए। उनले कांग्रेस सधैं लोकतान्त्रिक मूल्य, समावेशी विकास र जनताको हकहितका पक्षमा उभिँदै आएको उल्लेख गर्दै अनुभवी र जिम्मेवार नेतृत्व आजको आवश्यकता भएकाले रुङटालाई विजयी गराउनु सबैको साझा दायित्व भएको बताए। द्विवेदीले कांग्रेसको योजनाले मात्रै क्षेत्रलाई स्थायित्व र समृद्धिको दिशामा अघि बढाउन सकिने दाबी गरे।
स्थानीय मतदाताहरूले पनि नेपाली कांग्रेसप्रति सकारात्मक धारणा व्यक्त गर्दै विकास, स्थायित्व र सुशासनका लागि अनुभवी नेतृत्व आवश्यक रहेको प्रतिक्रिया दिएका छन्। कांग्रेसका नेता–कार्यकर्ताहरूले आगामी दिनहरूमा अभियानलाई अझ व्यापक र प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्।#


